२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

जिल्ला समन्वय समिति कपिलवस्तुमा कस्को पल्लाभारी ? कांग्रेस गठबन्धन बनाउने कसरतमा



मायादेवी अनलाइन, बाणगंगा ।
जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचनमा दलहरु चुनावी जोड घटाउमा लागेका छन् ।

जिल्लामा कुनै पनि दलको एकल बहुमत नभएकाले दलहरु आन्तरिक जोड घटाउमा लागेका हुन् ।

१० स्थानीय तह रहेको कपिलवस्तुमा जिससका लागि २० मत छ । जसमा नेकपा (एमाले) संग ७ र नेपाली कांग्रेससंग ८ भोट छ । एमाले र कांग्रेसले जिससको लागि अरु दलहरुसंग सहकार्य गर्नुपर्ने स्थिति छ ।

अझै जिससको चुनावी मिति नतोकिएको अवस्थामा एमाले र कांग्रेस अरु दलहरुसंग सहकार्य गर्न निरन्तर वार्ता गरिरहेका छन् ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जिससमा कसैको बहुमत नभएकाले अन्य दलहरुसंग चुनावी तालमेलका लागि पार्टीले प्रयास गरिरहेको बताए ।

उनले तालमेल हुन सके तालमेल गर्ने नभए एमाले एक्लै चुनावमा होमिने बताए । एमालेले जिसस प्रमुखमा बाबुराम आचार्यलाई उम्मेद्वार बनाउने शर्माले बताए ।

‘जिससमा कुनै पार्टीको एकल बहुमत छैन् । हामीले विभिन्न पार्टीसंग छलफल गरिरहेका छौं । निष्कर्षमा अझै पुग्न सकेका छैनौं, शर्माले मायादेवीसंग भने, ‘हेरौं तालमेल हुन सके तालमेल गर्छौ । हुन नसके एमाले एक्लै चुनावमा होमिन्छ, नतिजा जस्तो सुकै आओस् ।’

यता नेपाली कांग्रेसले जिससको चुनावमा गठबन्धनको सहायता लिने तयारीमा छ । बैशाख ३० को निर्वाचनमा कुनै पनि दलसंग चुनावी गठबन्धन गर्न नमानेको कांग्रेसले जिसस आफ्नो पक्षमा पार्न गठबन्धनको सहायता खोजेको हो ।

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका संयोजक रामचन्द्र शाहले जिससको चुनावमा गठबन्धन बीचका दलहरु बीच सहकार्य गर्ने गरि निर्णय भएको खुलासा गरे ।

केही दिन पहिला कांग्रेस, माओवादी, जसपा बीच चुनावी तालमेल गर्नेबारे छलफल पश्चात निर्णय गरेका छौं जिल्ला संयोजक शाहले भने, ‘सिटको बाँडफाँड हुन सकेको छैन् । अबको केहीँ दिनमा होला ।’

जिल्लामा जनता समाजवादी पार्टी (जसपा) संग २ र माओवादीसंग १ मत छ ।

कांग्रेस, जसपा र माओवादी बीच सहकार्य भए ११ मत हुन आउँछ । यद्यपि गठबन्धन दलले राप्रपा र लोसपा बीच पनि चुनावी तालमेलबारे सहकार्य गर्ने छन् ।

राप्रपा र लोसपा बीच पनि एक एक मत छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९ आइतबार ००:००  ९ : ०८ बजे