१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

१२ औँ कपिलवस्तु महोत्सवको हिसाबकिताब गायब, आयोजक भन्छ–‘पैसा उठेन’



चन्द्रकान्त न्यौपाने, बाणगंगा ।
१२ औँ कपिलवस्तु महोत्सव सम्पन्न भएको चार महिना विति सक्दासम्म पनि आयव्यय सार्वजनिक हुन नसके पछि आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघ शंकाको घेरामा तानिन थालेको छ ।

संसारकै अग्लो टावर युएईको ‘बुर्ज खलिफा’को नमुना बनाएर देशब्यापी धुम मच्च्याएको आयोजकले अहिलेसम्म पनि आयव्यय सार्वजनिक नगर्दा यसले व्यवसायीको बीचमा शंका उपशंका गनुपर्ने स्थिति उत्पन्न गराएको छ ।

गत चैत्र ३ गतेदेखि १३ गतेसम्म बुद्ध रंगशाला जितपुरमा धुमधाम पूर्व महोत्सव सम्पन्न भई २ लाख दर्शकले मेला अवलोकन गरेका थिए भने करिब ५ करोड बराबरको आम्दानी भएको आयोजकले उतिखेरै बताएको थियो ।

तर ५ करोड कसरी आम्दानी भयो ? कहा कहाँ खर्च भयो ? त्यसको अहिलेसम्म अत्तोपत्तो छैन् । एक प्रकारले भन्ने हो भने आयोजकले अहिलेसम्म हिसाब किताब गायव नै पारेको छ ।

५ महिनासम्म आयब्यय सार्जजनिक नहुनुको मुख्य कारणमा उठ्नुपर्ने रकम अहिलेसम्म नउठेको एउटा रहेको छ भने अर्कोमा आयोजकका जिम्मेवार ब्यक्ति नै यस विषयमा संवेदनशिल भएर नलागेका आयोजक भित्रकै जिम्मेवार ब्यक्ति बताउँछन् ।

संघका अध्यक्ष डोलकराम घिमिरे महोत्सवको संयोजक थिए भने वरिष्ठ उपाध्यक्ष छविलाल रेश्मी मगर निर्देशक थिए ।

पछिल्लो समय दुवै ब्यस्त भए । घिमिरे नेपाली काँग्रेसको बाणगंगाका प्रमुख नेता हुन् । उनी स्थानीय तहको चुनावमा बढी ब्यस्त भए भने रेश्मी त एमालेबाट वडा अध्यक्षको उम्मेदवार भएरै चुनाव जिते । त्यसैले पनि उनको ब्यस्तता अहिले ह्वात्तै बढेको छ । आयोजकका जिम्मेवार पदाधिकारीले महोत्सवको हिसाव किताब सार्वजनिक गर्नमा घिमिरे र रेश्मीको मुख्य भूमिका हुनुपर्ने बताउँछन् ।

यस विषयमा संघका अध्यक्ष एवम् महोत्सव संयोजक डोलकराम घिमिरेसंग बुझ्दा बिभिन्न कुरा आएका छन् । गलत मनसाय र नियत राखेर आयब्यय सार्जजनिक नगरिएको बताउँदै उनले उठ्नु पर्ने रकम अहिलेसम्म नउठेको बताए ।

उनले भने–“कृषि मन्त्रालय, लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालय, प्रायोजक, सह प्रायोजकहरुबाट उठ्नु पर्ने २० लाख बढी रकम अझै उठेको छैन् । बारम्बार ताकेता गरेका छौँ पैसा उठ्यो भने असार महिनामै हिसाब किताब सार्जजनिक हुन्छ । हिसाबकिताब सार्वजनिकमा ढिलाई भएको म स्विकार गर्छु ।”

भनेको समयमा सम्बन्धित ठाउँबाट पैसा नआए चुप लागेर नबस्ने समेत उनले चेतावनी दिए । अर्कोतर्फ पिङवालाले पनि पैसा नदिएर झुलाएको अध्यक्ष घिमिरेले बताए ।

यसरी चौतर्फी जिज्ञासाको विषय बनेको आयब्यय सार्जजनिकमा आनाकानी गरेर संघलाई बदनाम गराउन खोजेको भन्दै संघ भित्रका केही आक्रोशित पनि बनेका छन् । उनीहरुले चाँडै हिसाब किताब सार्वजनिक गर्न माग गरिरहेको मायादेवीसंग बताए ।

यस विषयमा पटक पटक आफूहरुले चासो राखिरहेको भएपनि मुख्य नेताको ध्यानाकर्षण हुन नसके पछि संघ नै बदनाम हुने स्थितिमा पुगेको भन्दै कतिपय ब्यवसायीले चिन्ता व्यक्त गरेका छन् । समस्या नै भएको हो भने पत्रकार सम्मेलन गरी खास कुरा सार्जजनिक गर्नुपर्ने उनीहरु बताउँछन् ।

संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले महोत्सवको हिसाबकिताब सार्वजनिक नहुँदा व्यवसायी माझ प्रश्न उठ्नु स्वाभाविक भएको बताउँदै आयोजक चाँडै यस विषय माथि गम्भिर बन्नुपर्ने बताउँछन् । उनले भने–‘पैसा उठेन हामीलाई पनि थाहा छ । दिनेले पैसा नदिएपछि समस्या भएको थाहा छ । तर यो कुरा बाहिरका मानिस र अरु व्यवसायीले कसरी बुझ्नु ? समयमै हिसाव सार्वजनिक नभए अर्को पटक महोत्सव लगाउन संघलाई कठिन हुनेछ ।’

अर्कोतर्फ बिभिन्न ठाउँमा लेनदेन बाँकी रहेकोले समस्या सिर्जना हुन थालेको महोत्सवको लेखा समिति बताउँछ । मिडिया हाउसहरुले पनि आयोजकले सम्झौता गरेअनुसार अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो गरेका छन् । बाहिर सरोकारवालाले पनि समयमै हिसाव किताब सार्वजनिक नगरेर संघले आर्थिक पारदर्शिता माथि प्रश्न उठाउने काम गरेको बताउँछन् ।

प्रकाशित मिति : ३ असार २०७९ शुक्रबार ००:००  ३ : ३४ बजे