१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बाणगंगाको आगामी नीति तथा कार्यक्रमः सरोकारवालाको यस्तो छ सुझाव



दीपा महत, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा योजना निर्माण गरेर निश्चित मापदण्ड तयार गर्दै काम गर्न सरोकारवालाले सुझाएका छन् ।

नगरपालिकाले गरेका कतिपय विकास निर्माणका कामहरु टिकाउ नभएकाले निश्चित मापदण्ड तय गर्दै विकास निर्माणको कामलाई अगाडी बढाउन सुझाव दिएका हुन् । वाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रमका लागि मंगलबार सरोकारवालासंग राखेको सुझाव संकलन कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा सुझाव राख्दै प्रदेश सांसद विष्णु पन्थीले वाणगंगा नगरपालिकालाई प्रदेश तथा देशकै उत्कृष्ट नगरपालिका बनाउनुपर्ने भन्दै कपिलवस्तुमा रुपन्देहीमा भन्दा पनि बढी स्रोत र साधन रहेको बताउनुभयो । रुपन्देहीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट कपिलवस्तुवासीले पनि भरपुर आर्थिक लाभ लिन सक्ने भन्दै बाणगंगाको अबको नीति तथा कार्यक्रममा त्यो विषयवस्तुलाई पनि समेट्नुपर्ने बताउनुभयो ।

‘भैरहवामा संचालनमा आएको विमानस्थलबाट देशलाई जति लाभ हुन्छ । त्यो भन्दा बढी लुम्बिनी प्रदेशलाई, अझ बढी हामी बाणगंगाबासीले पनि लाभ लिन सक्छौ । त्यसका लागि नगरपालिकाले लगानी भित्राउने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्यो उहाँले भन्नुभयो ।’

यस्तै सांसद पन्थीले पुरा गर्न नसक्ने महत्वाकांक्षी योजनाहरु नीति तथा कार्यक्रममा समावेश नगर्न सुझाव दिनुभएको छ । यसका साथै बाणगंगामा भैरहेको अतिक्रमणलाई नियन्त्रण गर्नुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य विश्राम प्रसाद थारुले बाणगंगा नगरपालिकामा रहेका स्रोतको पहिचान गर्दै यहाँका खोलानालाहरुको उचित ब्यवस्थापन गर्न सुझाव दिनुभयो । नगरपालिकामा केहि ठाउँमा अनावश्यक बजेट खर्च भएको भन्दै विकास निर्माणका काममा सशक्त भएर लाग्न आग्रह गर्नुभयो ।

यसैगरी निर्वतमान मेयर मंगल प्रसाद थारुले बाहिर जति भन्न सजिलो भए पनि पदमा बसेर काम गर्न भने गाह्रो भएको भन्दै अब आफु मेयरमा नदोहोरिने बताउनुभयो । नगरपालिकामा राम्रो काम गर्ने जनप्रतिनिधिलाई आफुको सधै साथ र सहयोग रहने पनि उहाँको भनाई छ ।

कार्यक्रममा सल्लाह तथा सुझाव राख्दै नेकपा एमाले वाणगंगाका नगर अध्यक्ष युवराज पोख्रेलले जिल्लाकै उत्कृष्ट तथा मुख्य ब्यापारिक केन्द्र वाणगंगालाई भनिए पनि यहाँ एउटा बसपार्क नहुनु दुखद भएको भन्दै अबको नीति तथा कार्यक्रममा बसपार्कको विषयलाई समावेश गर्न आग्रह गर्नुभयो ।

पोख्रेलले पछिल्लो समय नगरमा सडक लगाएत विभिन्न कारण दुर्घटना बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्ने गरी कार्यक्रम ल्याउन सुझाव दिनुभयो । यसका साथै चोकचोकमा खानेपानीको ब्यवस्था गर्न सकेमा यसले बाटोमा हिड्ने बटुवा तथा यात्रुहरुलाई सहज हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नगर सभापति विष्णु थापाले बर्षौ देखि नगरपालिकामा विभिन्न समस्याहरु उठे पनि अहिलेसम्म समाधान हुन नसकेको बताउनुभयो । नगरपालिकामा गरिवी, सुकुम्बासी लगाएत धेरै समस्या रहेको भन्दै त्यो समस्यालाई समाधान गर्ने गरी आगामी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

बाणगंगामा किसानले उत्पादन गरेको बस्तुहरुको बजारीकरण हुन नसक्दा धेरै किसान मर्कामा परेका छन् यसका साथै, मल, सिचाईको समस्या पनि ब्याप्त रहेकाले यसलाई समाधान गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का जिल्ला उप-सचिव कमल भट्टराईले विकास निर्माणको काम गर्दा पर्यावरणलाई सन्तुलित राख्नुपर्नेमा जोड दिनुभयो । युवा नेता भट्टराईले नगरपालिकाले शिक्षा, स्वास्थ्यलाई महत्व दिदैँ आगामी नीति तथा कार्यक्रममा लैजानुपर्ने बताउनुभयो ।

यसका साथै नगरपालिकाले नगरभरीका श्रमजिवीको संख्या एकिङ गर्दै उनीहरुले पाउने ज्याला के कस्तो छ र राज्यले निर्धारण गरेको न्यूनतम ज्याले पाएका छन कि छैनन् भन्ने बारे जानकारी लिनुपर्ने र निश्चित ज्याला नदिने कम्पनी तथा उद्योगलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा नेकपा नेता गणेश चौधरीले नगरपालिकाले काम गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । बरु थोरै काम गर्ने तर काम भने गुणस्तरीय हुनुपर्ने बताउनुभयो । नगरपालिकाले निर्माण गरेका बाटो तथा पुलहरु केही महिनामै भत्किने गरेकाले निश्चित मापदण्ड ल्याउन सुझाव दिनुभयो ।

कार्यक्रममा नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, वडा नम्बर ९ का निर्वतमान वडा अध्यक्ष ध्रुव बेल्वासे, पत्रकार अशोक पौडेलले बोल्दै छाडा पशुचौपायाको ब्यवस्थापन, लागुऔषधको नियमन तथा नियन्त्रणमा, मिडियामा एकरुपता दिन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा सरोकारवालाले राखेका सुझावलाई आगामी निती तथा कार्यक्रममा समेट्ने प्रयास गर्ने भन्दै नगर प्रमुख चक्र अर्यालले यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।

नगर प्रमुख अर्यालको अध्यक्षमामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आर्थिक वर्ष २०७८/७९ को बजेट तथा खर्च विवरण आगामी आव ०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

साथै उहाँले बाणगंगाको विकास तथा समृद्धीका लागि आएका सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेट्ने बताउनुभयो ।

शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, नगरका जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधी संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ७ असार २०७९ मंगलबार ००:००  ७ : १२ बजे