८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुको विजयनगरमा ४ सय बढी छात्रालाई निःशुल्क साइकल वितरण



कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाले विद्यालयका छात्राहरुलाई निःशुल्क साइकल वितरण गरेको छ । विद्यालयमा कक्षा ९ र ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरेको हो ।

तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताए ।उनका अनुसार गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत पालिकामा रहेका विद्यालयका कक्षा ९ र ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले महिला सशक्त भए मात्र पालिकाको विकास सम्भव रहेको दोहोर्‍याउँदै थापाले भने, ‘साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुन्छ ।’ शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको बताइन् । गाउँपालिकाले छात्राहरुलाई साइकल वितरण गरेर विद्यालय जानका लागि उत्प्रेरित गर्ने उल्लेख गरिन ।

कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा पालिकालाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो । यसअघि पनि ७७र०७८ मा विजयनगरका ९ र ११ का विद्यालयमा अध्ययनरत २४० छात्रालाई साइकल वितरण गरिएको थियो ।

प्रकाशित मिति : ८ असार २०७९ बुधबार ००:००  ६ : १५ बजे