७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भेरी-बबईमा भएन लक्ष्यअनुसारको प्रगति



सुर्खेत ।
विश्वव्यापी कोभिड–१९ महामारीका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्नुपर्ने दोस्रो चरण तथा चालु आव २०७८/०७९ मा सम्पन्न गर्नुपर्ने तेस्रो चरण कार्यहरु कोरोना महामारीलगायतका कारणले प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा बाँध, सर्ज साफ्ट, विद्युतगृह निर्माण तथा तेस्रो चरणमा हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम) सम्बन्धी कार्य पर्दछन् । पहिलो चरणअन्तर्गत टनेल (सुरुङ) निर्माण कार्य भने निर्धारित समयअगावै सम्पन्न भइसकेको थियो । दोस्रो चरणका सिभिल संरचना निर्माण जारी छन् ।

आयोजनाले तेस्रो चरणका हाइड्रोमेकानिकल–इलेक्ट्रोमेकानिकलसम्बन्धी निर्माण एवं जडान कार्य सुरु गरेको छैन । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनियर लेखनाथ सुवेदीले कोभिड–१९ को असर, नदीमा पानीको बहावको प्रतिकूलता, स्थानीय निर्वाचनलगायतका कारण समयमै सम्पन्न हुनुपर्ने कार्यको दायित्व पछिल्लो समय सरेको बताए ।

“कोरोना महामारीको पहिलो र दोस्रो लहरका कारण धेरै काम प्रभावित हुन पुग्यो, दोस्रो चरणका काम र तेस्रो चरणका काम सँगसँगै अघि बढाएका छौँ”, उनले भने, “खरिद प्रक्रियासँग सम्बन्धित कानूनी जटिलताका कारण पनि तेस्रो चरणको निर्माण एवं जडान कार्यमा ढिलाइ हुन पुगेको छ ।” हाइड्रोमेकानिकलअन्तर्गत गेट तथा पेनस्टक पाइप तथा इलेक्ट्रोमेकानिकलअन्तर्गत टर्वाइन, जेनेरेटर, स्विचार्ड निर्माण कार्य पर्दछन् । आयोजनाका सूचना अधिकारी सुवेदीका अनुसार गेट तथा पेनस्टक पाइप निर्माण कार्यको बोलपत्र आह्वानबाट प्राप्त बोलपत्रको प्राविधिक मूल्याङ्कन स्वीकृत हुन बाँकी छ ।

त्यस्तै हाइड्रोमेकानिकल कार्यका लागि चिनियाँ इञ्जिनियरिङ कम्पनीलाई परिचालन गरिएको छ ।

इलेक्ट्रोमेकानिकलसम्बन्धी निर्माण कार्यका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ । गत आव २०७७/०७८ मा उक्त दुवै कार्यको खरिद व्यवस्थापन सम्पन्न गर्ने लक्ष्य थियो तर विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरसमेतका कारण प्रभावित हुन पुगेको बताइएको छ ।

आयोजनाको सुरुदेखि २०७९ वैशाख मसान्तसम्म कूल वित्तीय प्रगति ४०.७२ प्रतिशत तथा भौतिक प्रगति ५५.६० प्रतिशत हासिल भएको जनाइएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न छ गेजसहितको ब्यारेज निर्माण गरिँदैछ ।

उक्त ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगङ्गा नगरपालिकाको वडा नं ११ हात्तीखालमा प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई बबई नदीमा खसालिनेछ । जहाँ ४६.८ मेगावाट क्षमताको विद्युत् उत्पादनको तयारी छ ।

सङ्घीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । यस आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ । रासस

प्रकाशित मिति : ८ असार २०७९ बुधबार ००:००  ८ : ५९ बजे