१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

संयुक्त मोर्चाको नेतृत्व गर्दै नेत्र गिरीले जिताए मोतिपुर खानेपानीको नेतृत्व, एमाले पराजित



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ७ मा रहेको मोतीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा संयुक्त मोर्चाले विजयी हासिल गरेको छ ।

विहीबार सम्पन्न निर्वाचनमा संयुक्त मोर्चाबाट शेषकान्त बेल्वासे सहितको पुरै प्यानल निर्वाचित भएको छ ।

यो मोर्चाको नेतृत्व नेत्र गिरीले गरेका थिए । गिरीको नेतृत्वमा बनेको मोर्चाले एमालेबाट अध्यक्षमा उठेका निवर्तमान अध्यक्ष दिपक कुमार भट्टराईको प्यानललाई पराजित गरेको हो ।

कार्की यसभन्दा अगाडी अध्यक्ष थिए । उनले तीन बर्षमा अधिवेशन गर्ने गरि समितिमा आए पनि झण्डै ८ बर्षसम्म अधिवेशन नगराएको संयुक्त मोर्चाको आरोप छ । ५ सय ३५ उपभोक्ता रहेको मोतीपुर खानेपानीको निर्वाचनमा ५ सय ६ मत खसेको थियो ।

मोर्चाबाटै समितिको उपाध्यक्षमा माधवप्रसाद खनाल, सचिवमा खगेश्वर न्यौपाने, कोषाध्यक्षमा प्रेम पौडेल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा शर्मीला गिरी, मनकला क्षेत्री, रोमाखर न्यौपाने, पुनम गुरुङ र गोमा कुँवर निर्वाचित भए ।

साविक मोतिपुर गाविसको वडा नं. १ का जनतालाई खानेपानीको सुविधा दिने गरि मोतीपुर खानेपानी स्थापना भएको हो । हाल वडा नं. ७ मा रहेका गंसहवा, भुइपुरा, बाढी गाउँ, नयाँ गाउँ टोल, बजार टोल, बन्हवा टोल, डाडाँ, चप्परगाउँ र ढोडेकोलका उपभोक्ता छन् ।

नवनिर्वाचित अध्यक्ष बेल्वासेले तत्काल खानेपानीका उपभोक्ताको संख्या बढाउने योजना रहेको बताए । १ सयको हारहारीमा उपभोक्ता जोडिन खाजेको भन्दै त्यो कामलाई पूरा गर्ने गरि समिति लाग्ने उनले जनाए ।

प्रकाशित मिति : १० असार २०७९ शुक्रबार ००:००  ९ : १६ बजे