१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तुको अतिक्रमित जग्गामा स्काभेटर चलाइयो, स्थानीयको अवरोध



दीपा महत, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ बरवाको अतिक्रमित क्षेत्रमा शुक्रबार स्काभेटर लगाइएको छ । मायादेवी साझेदारी बन अन्तरगत पर्ने उक्त क्षेत्रमा साझेदारी बनले बृक्षारोपणका लागि भन्दै स्काभेटर लगाएको हो ।

तर स्थानीयले आफुले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गामा बनले ज्यादती गरेर स्काभेटर लगाएको भन्दै अवरोध जनाएका छन् । स्थानीयको अवरोधका बीच उक्त क्षेत्रमा स्काभेटरको माध्यमबाट अतिक्रमित जग्गा खनिएको छ ।

उक्त अतिक्रमित जग्गामा बृक्षारोपण गरिने मायादेवी साझेदारी बन उपभोक्ता समितिका अध्यक्ष अब्दुल अजिजले बताउनुभयो ।

‘हामी माथि बनले ज्यादती गर्यो स्थानीयको अवरोधका बीच पनि जग्गा खनिएको छ । भोलि बिहान छलफल गरेर निश्कर्षमा पुगेपछि मात्र स्काभेटर लगाउनु होला, यसमा हाम्रो कुनै अवरोध हुने छैन भन्दापनि जबरजस्ती स्काभेटर लगाइएको एक स्थानीयले भने ।’

यता डिभिजन बन कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख विजयराज सुवेदीले भने सरकारको नीति अनुसार नै अतिक्रमित जग्गा हटाउन लागेको बताउनुभयो । यसभन्दा अघि जिल्लाका विभिन्न ठाउँका अतिक्रमित जग्गा हटाइसकेको भन्दै यहाँका स्थानीयले अनावश्यक विरोध जनाएको बताउनुभयो । यो अतिक्रमण नरोकेमा स्थानीयले बस्तीनै बसाल्ने उहाँले खतरा औल्याउनुभयो ।

मायादेवी साझेदारी बन अन्तरगत ९० हेक्टर वन क्षेत्र अतिक्रमण भएको भन्दै सरकारले बनको अतिक्रमण नरोक्न भनेमा जग्गा यतिकै छाडिदिने भन्दै साझेदारी वन भन्दापनि सरकारको नीति अनुरुपनै अतिक्रमण जग्गा हटाउन लागेको मायादेवी साझेदारी बनका अध्यक्ष अब्दुल अजिज खाँले बताउनुभयो ।

‘एकातिर सरकारले भूमिहिन सुकुम्बासीलाई लालपुर्जा दिन्छु भनेर आस देखाएका छ । अर्को तर्फ अतिक्रमित जग्गा हटाउन लगाएको छ, यसले गर्दा समस्या भएको छ, अध्यक्ष खाँले भन्नुभयो ।’

बनको अतिक्रमित जग्गा हटाउन लाग्दा आफुलाई विभिन्न ब्यक्तीहरुले ज्यान मार्नेसम्मको धम्की दिएको बताउनुभयो ।

बरवामा वडा नम्बर १० का स्थानीय आएर ११ नम्बर वडाका स्थानीयलाई उचाल्ने काम गरेको बताउनुभयो । ११ नम्बर वडाका स्थानीयसंग छलफल गरेर नै बृक्षारोपण गर्न लागेको उहाँको भनाई छ । जग्गा जोतभोग गर्दै रुखको बीचमै गएर घर बनाउन लागेकाले तत्काल खेती, अतिक्रमण र बेचबिखन रोक्न वनको जग्गामा तारबार गरिने उहाँले बताउनुभयो ।

यसका साथै यहाँका स्थनीयले रोल्पा, रुकुम, प्यूठान जाजरकोट लगायत जिल्लाका सोझसाझा मानिसलाई जग्गा बेचेर उनीहरुलाई ठग्ने काम गरेको आरोप लगाउनुभयो ।

‘हामीसंग प्रमाण छ त्यो प्रमाण आवश्यक परे हामी दिन तयार छौ । तर यहाँका केहीँ ब्यक्तीले रुकुम, रोल्पा, प्यूठान जाजरकोटसम्मका मानिसलाई सस्तोमा जग्गा बेचेर उनीहरुबाट ५–१० लाख लिएका छन् पिडितहरुले मलाई फोन गरेका छन् उहाँले भन्नुभयो । ’

यसरी सोझासाझा मानिसलाई ठग्ने काम भएको भन्दै बजारमा घर भएका ब्यक्तीहरुलेनै जग्गा अतिक्रमण गरेको अध्यक्ष खा बताउनुहुन्छ । यँहाका स्थानीयले अन्य ब्यक्तीबाट प्रति कठ्ठा ५, १० हजार लिएर वन अतिक्रमण गरेको भन्दै मायादेवी गाँउपालिका, यशोधारा गाँउपालिका, कपिलवस्तु नगरपालिकाका स्थानीयपनि यहाको वन क्षेत्र अतिक्रमणगरी बस्ती बसाल्न आउनु लागेको अध्यक्ष खाँले बताउनुभयो ।

सरकारले वन क्षेत्रमा अतिक्रमण गरेर बसेका जनतालाई चुनावी समयमा लालपुर्जा दिन्छु भनेर आश्वासन दिएको भन्दै समस्याको जडनै सरकार रहेको बताउनुभयो । यसमा जनताको पनि केहि गल्ती छैन चुनावको बेला जंगलको जग्गालाई लालपुर्जा दिन्छु भनेर आशा देखाउदाको परिणाम हो यो उहाले भन्नुभयो ।

यसको जवाफ नगरपालिका र सरकारले दिनुपर्ने उहाँले बताउनुभयो । कडा सुरक्षाका बीचमा स्काभेटर चलाइएको छ । सुरक्षाका लागि वनका कर्मचारी, नेपाल प्रहरी लगाएत सुरक्षाकर्मी खटिएका थिए ।

प्रकाशित मिति : १० असार २०७९ शुक्रबार ००:००  ७ : ०२ बजे