२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

बुद्धभूमि नगरपालिकाले मनायो रोपाईँ महोत्सव



मायादेवी अनलाइन, बाणगंगा ।
१९ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले पनि भव्य कार्यक्रमको आयोजना गरि मनाएको छ ।

नगरको वडा नं. १ भेलाईमा बुधबार किसान, जनप्रतिनिधि र नगरका कर्मचारीले धान रोपाईँ गरेर दिवस मनाएका हुन् ।

दुर्गा भवानी कृषक समूहको सहजीकरण र नगरपालिकाको आयोजनामा भएको धान रोपाईँ कार्यक्रममा नगर प्रमुख केशवकुमार श्रेष्ठ, वडा नं. १ का वडाध्यक्ष तेज बहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत केशव राज सुवेदी लगायत सरिक भए ।

विहानै देखि परेको झरिसंगै धान रोप्न थाल्दा किसानले असारे गीत गाए पछि भेलाईको माहोल एकैछिन गुन्जयमान भएको थियो ।

लामो खडेरीसंगै दुई दिन देखि परेको अविरल बर्षाले किसान खुसी भएका छन् । यहीँ परिवेशमा असार १५ को धान दिवस झनै रमाइलो भएको हो ।

नगरपालिकाका नगर प्रमुख श्रेष्ठले किसानलाई थप हौसला दिनका लागि यो कार्यक्रम आयोजना गरिएको बताए । आफु पनि किसान भएको भन्दै किसानका लागि स्थानीय सरकार मात्र होइन् प्रदेश र केन्द्र सरकारले पनि विभिन्न किसानमुखी कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।

मलखादको अभावमा यसपालिका किसान पिल्सिनुपरेकोमा दुख लागेको भन्दै यसको दीर्घकालिन समाधानमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । स्थानीय सरकारले चाहेर पनि मलखादको प्रबन्ध गर्न नसक्ने भन्दै धान दिवस मनाइरहदा मलखादको समस्या विकराल देखिदा खल्लो महसुस भएको श्रेष्ठको भनाई छ ।

‘धान बालीमा जैबिक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ यो बर्षको धान दिवस मनाइएको हो ।

प्रकाशित मिति : १५ असार २०७९ बुधबार ००:००  ७ : ४० बजे