५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

रक्सौल नाकाबाट इन्धनको आयात बन्द, बरौलीबाट ल्याउँदा लागत बढ्ने



काठमाडौं ।

इण्डियन आयल कर्पोरेशन आइओसीले सुरक्षा स्थितिमा चासो देखाएपछि नेपाल आयल निगमले हवाई रक्सौल नाकाबाट इन्धनको आयात बन्द गरेको छ ।

निगमलाई आइओसीले पटक–पटक रक्सौल नाकाबाट हवाई इन्धन आयात बन्द गर्न दबाब दिएपछि बरौली नाकाबाट आयात सुरु भएको छ ।

यसअघि, निगमले रक्सौल नाकाबाटै डिजेल, पेट्रोल र हवाई इन्धन लगायतका सबै पेट्रोलियम पदार्थ आयात गर्थ्यो । नेपाल–भारत पेट्रोलियम पाइपलाइन बनेपछि डिजेल आयात पाइप लाइनबाट हुन थाल्यो । त्यसपछि, आइओसीले पेट्रोलको आयात पनि बरौलीबाट गर्न भन्दै रक्सौलबाट हुने आयात बन्द गर्न पटक–पटक दबाब दिएको थियो ।

निगमका प्रवक्ता विनितमणी उपाध्यायले भारतको अनुरोधपछि यसअघिदेखि नै पेट्रोलको आयात बरौलीबाट सुरु भइसकेको बताए । उनले हवाई इन्धनको आयात पनि बरौलीबाट सुरु भएको बताए । ‘भारतले सुरक्षामा चासो देखाएपछि आयात बरौली नाकाबाट सुरु भएको छ,’ उनले भने, ‘रक्सौलबाट आयात गर्नुभन्दा बरौलीबाट आयात गर्दा लागत थप बढ्छ ।’

काठमाडौं उपत्यका लगायत, गण्डकी, प्रदेश १, मधेश प्रदेश लगायतका क्षेत्रलाई लक्षित गरेर ल्याइने इन्धनको लागत बढ्ने उनले बताए । रक्सौलबाट काठमाडौं ल्याउँदा ५६२ किलोमिटर दूरी पर्छ । तर, बरौलीबाट काठमाडौंसम्मको दूरी १००० किलोमिटर हुन्छ । यस हिसाबले हवाई इन्धनको ढुवानी लागत बढ्ने र यसको भार निगमलाई पर्ने उपाध्यायको भनाइ छ ।

खासगरी, भारतले रक्सौल क्षेत्र बढी चहलपहल हुने क्षेत्र र त्यस क्षेत्रका बस्ती झुपडीबाट बनेकाले इन्धन ढुवानीमा जोखिम औंल्याएको छ । यस्तै, रक्सौल क्षेत्रको पानीको निकासमा समेत समस्या देखाउनुका साथै त्यस क्षेत्रको भण्डारण क्षमता सानो भएकाले बरौलीबाट आयात गर्न भनिरहेको थियो ।

प्रकाशित मिति : १९ असार २०७९ आइतबार ००:००  १ : ०५ बजे