१८ मंसिर २०७९, आइतबार | Sun Dec 4 2022

बाबुरामको राजनीतिक भविष्य के होला ?



चन्द्रकान्त न्यौपाने
२०३९ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका वैचारिक नेता डा। बाबुरा म भट्टराईले २०७९ सालसम्म आइपुग्दासम्म चार वटा पार्टी अदलबदल गरे । सुरुमा एकता केन्द्र, त्यसपछि नेकपा माओवादी, नयाँ शक्ति नेपाल हुँदै उनी अहिले जनता समाजवादी पार्टी (जसपा) मा छन् । अहिले ६८ औँ वसन्त पार गरिरहेका उनले यहाँसम्म आइपुग्दा राजनीतिक यात्रामा करिब ४२ वर्ष पार परे। राजनीतिक यात्रामा उनी कहिल्यै छायामा परेनन् । सधैँ नै चर्चामा रहे। अहिले पनि जनता समाजवादी पार्टीमा देखिएको फुट र नयाँ पार्टी निर्माण गर्ने उनको चाहनाले उनी थप चर्चाको शिखरमा पुगेका छन्।

बाबुरामलाई बौद्धिक वर्गको साथ सधै

नयाँ गर्न खोज्ने तर सही राजनीतिक निर्णय लिन नसक्ने विशेषताको कारण यतिखेर उनी अनिश्चिततताको भूमरीमा छन् । किनकी उनका विकल्प अब थोरै छन्, चिन्ता र चासो भने धेरै छ । यस्तोमा बाबुराम के गर्छन् रु पक्कै चासो हुनु स्वभाविक हो। २०२६ सालका एसएलसी बोर्डफस्ट, माओवादी सशस्त्र विद्रोहका एक वैचारिक योद्धा भट्टराई गणतन्त्र घोषणापछिको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकारका अर्थमन्त्री हुन् ।

०६८/०६९ सालमा उनी मुलुकको ३५ औँ प्रधानमन्त्रीसमेत बने । ‘द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल’ विषयमा भारतबाट विद्यावारिधि गरेका उनले नेपालको रामेछापको मन्थली तथा दाङको लमही लगायतका सहरको डिजाइन गरेपछि उनको बौद्धिकताको थप चर्चा भएको थियो ।

समकालीन नेपाली राजनीतिकर्मी माझ कुशल योजनाकार, वैचारिक, वौद्धिक, मुलुक बनाउने दृढ चाहना भएका नेताका रुपमा परिचित डा. भट्टराईले अर्थमन्त्री हुँदा त्यस्ता संकेत देखाए, जसकारण उनीबाट अब मुलकमा केही हुन्छ भन्ने मानिसमा आशाको दियो जागेको थियो ।

त्यसपछि प्रधानमन्त्री बनेर नेपालमै बनेको ‘मुस्ताङ म्याक्स’ गाडी चढेर उनले अर्को चर्चा पाए । समयअनुसार लोकप्रिय निर्णय गर्ने उनले भारतसँग् विप्पा सम्झौता पनि गरेका थिए । तर त्यो निर्णयले भने आलोचनाको अचानोमा थिचिनु पर्यो । अर्थमन्त्री हुँदा बनाएको साख उनले प्रधानमन्त्रीत्वमा देखाउन सकेनन् । जम्मा ९ महिना प्रधानमन्त्री बनेका उनले काठमाडौंका बाटा फराकिला बनाएर वाहवाही भने कमाए । त्यतिखेरसम्म पनि बाबुराममा बौद्धिक तप्काको साथ र सहानभूति थियो ।

निजी क्षेत्रले उनीमाथि विश्वास र भरोसा राख्थे । आर्थिक समृद्धिका मुद्दा बनाएका योजनाले अन्तर्राष्ट्रिय समुदायको पनि ध्यान खिच्न उनी सफल भए । दुई वटा संविधानसभामा (०६४ र ०७० सालमा) उनी गोरखाबाट निर्वाचित भए । उनले संविधान बनाउन पनि निकै महत्त्वपूर्ण भूमिका खेले । दोस्रो संविधानसभा गठनपछि संविधान मस्यौदा समितिको अध्यक्षरसभापतिको रूपमा बाबुरामले वर्तमान संविधान निर्माणमा सक्रिय भूमिका खेले ।

त्यसपछि २०७२ साल असोज ३ गते गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको संंविधान २०७२ जारी भयो । संविधान जारी गरेकै दिन प्रतिनिधि सभाबाट बाहिरिने क्रममा उनले संविधानलाई आधा गिलास पानी भएको भन्दै ५७ बुँदे असन्तुष्टि सार्वजनिक गरे ।

संविधानसभा गठनपछि मस्यौदा समितिको सभापति बनेका उनले संविधान जारी हुँदाकै दिन ५७ बुँदे असन्तुष्टि सार्वजनिक गरेपछि बौद्धिक जगत्, राजनीतिकर्मी, नागरिक समाज अचम्ममा परे । संविधानसभाबाट जारी गरिएको संविधानमा मधेसी, थारु, आदिवासी जनजाति, दलितलगायत विविध समुदायको कतिपय असन्तुष्टि कायमै रहेको स्थितिमा तीनलाई सम्बोधन गर्ने गरी आवश्यक संशोधन गर्नुपर्ने भट्टराईको मत रहँदै आएको छ।

नयाँ शक्तिको त्यो आकर्षण

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली एवं पूर्ण समानुपातिक संसद् नै सर्वोत्तम विकल्प हो भन्ने मान्यता अगाडि सार्दै नयाँ पार्टी स्थापना प्रक्रिया अगाडि बढाएका थिए । यिनै फरक खालका विचार, सीमान्तकृत मुद्दालाई आफ्नो ठान्ने उनीमाथि नेपालीको आकर्षण बढेको हो । यही जगमा टेकेर उनले २०७३ सालको जेठ ३० मा नयाँ शक्ति पार्टीको घोषणा गरे ।

करिश्मा मानन्धर लगायतका सेलिब्रेटीलाई साथमा लिएर करिब १ लाख जनसमुदायलाई दशरथ रंगशालामा उतारेपछि बाबुरामप्रति एक खालको आकर्षण देखिन्थ्यो । आक्रामक प्रचारसहित रंगशालामा नयाँ शक्ति घोषणा हुँदा एमाले अध्यक्ष केपी ओलीले भनेको भनाइले तरंग ल्याइदियो । उनले भनेका थिए, ‘एमाले बाहेकलाई बाबुरामले धक्का दिन सक्छन् ।’

उनले पार्टीमा अर्थसचिव रामेश्व खनाल जस्ता वौद्धिक मानिसलाई पार्टीमा समाहित गराए । माओवादीबाट पनि देवेन्द्र प्रकाश खनाल (सुनिल), मुमाराम खनाल लगायत उनको पार्टीभित्र अटे । यसबाट एउटा आकर्षण उनको पार्टीमा देखिन्थ्यो ।

विस्तारै उनको पार्टी फेरि टुटफुटमा गिजोलियो । पार्टीभित्रका असन्तुष्टिका स्वर पनि मुखरित हुन थाले । पार्टी छिन्न भिन्न हुन थाल्यो । उनले विश्वास गरेका मुमाराम खनाल, मणि थापा, देवेन्द्र प्रकाश सुनिल लगायतले पार्टी छोडे । उनलाई साथ दिएका केही नेता माओवादीमै फर्किए । नयाँ शक्ति बनाउन भट्टराईले ठूलो मिहिनेत गरे पनि त्यहाँ सफलता मिलेन । ०७४ को प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्ति पार्टीबाट डा. भट्टराईबाहेक कसैले जितेनन् ।

बाबुरामको भविष्य के होला ?

बाल्यकालमा मुक्तिप्रसाद नामले परिचित उनी अहिले भने अब राजनीतिबाटै मुक्तिको दिशातिर उन्मुख छन् । किनकी उनले उपेन्द्रसँग नयाँ शक्ति नेपालको एकीकरण गराए त्यहाँ असफल रहे ।

त्यसपछि उनीहरुले अन्य मधेसी नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायतलाई पनि पार्टीमा समावेश गरेर जनता समाजवादी पार्टी बनाए । तर, उनीहरुले महन्थ ठाकुर, राजेन्द्र महतो लगायतालाई मनाउन नसक्दा उनीहरुले अर्को दल खोले । बाबुराम त्यहाँ पनि असफल भए । जसपामा बाबुराम र उपेन्द्र रहे । गत स्थानीय तह निर्वाचनले उनीहरु नै मधेशमा प्रमुख शक्तिको रुपमा देखिए । तर, निर्वाचनको ३ महिनापछि भने उनीहरु फुटेका छन् ।

संघीय परिषद्का दुवै अध्यक्षबीचको आन्तरिक तिक्तताले जसपा पार्टी फुटमा गएको हो । अब बाबुरामले नयाँ पार्टी खोल्ने जनाएका छन् । संघीय अध्यक्ष रहेको पार्टीबाट अलग हुन सांगठनिक र राजनीतिक आधार उनले बनाइरहेका छन् । जसपाका नेताका अनुसार यसै साता जसपाको भविष्य छिनोफानो हुनेछ ।

यादवसँग सहमतिमा छुट्टिने भनेर हिँडेका भट्टराई अहिले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग समदूरीमा संवादमा छन् । तर, निरन्तर असफल बन्दै गएका उनी अब नेपाली राजनीतिमा माथि उठ्न भने निकै कठिन छ । धेरैले अब बाबुरामको राजनीतिक भविष्य सकिएको बताउँछन् ।

दोश्रो पटक प्रधानमन्त्री हुने उनको सपना अब पुरा नहुने धेरैको अनुमान छ। यो प्रतिनिधि सभाको कार्यकाल नै उनको अन्तिम हुने धेरैको अनुमान छ । काठमाण्डौँबाट चुनाव जितेर रेकर्ड राखेका उनले आगामी निर्वाचनमा मुलुकका अरु क्षेत्रमा त नराम्ररी पराजित हुने छन् नै गृह जिल्ला गोरखाबाट पनि उनलाई चुनाव जित्न निकै कठिन हुनेछ । यस्तो अवस्थामा बाबुरामको भविष्य के होला ? या राजनीतिबाट विश्राम लेलान् ? धेरैमा जिज्ञासा छ ।

अबको उनको विकल्प भनेको कि त्यही मधेसवादी पार्टीलाई नयाँ रुप दिने, कि माओवादी केन्द्र या त केपी शर्मा ओलीको पार्टीमा जाने या राजनीतिबाट संन्यास लिने । बाबुराम राजनीतिबाट सन्यास लिने पक्षमा हुने छैनन्। किन कि उनमा अझै पनि एकपटक मुलुकको प्रधानमन्त्री बन्न मनोकांक्षा छ । तत्काल एमाले र माओवादीमा जाने उनको योजना पनि छैन। किनकी प्रचण्डसँग अझै पनि उनका धेरै कुराहरुमा मत मिल्दैन। आफूलाई कम्युनिष्ट नेता भन्न छोडेका उनले प्रचण्डलोई कम्युनिष्ट आन्दोलन बर्बाद गर्ने खलपात्रको रुपमा लिन्छन्।

यता प्रतिनिधि सभाको दुइ दुईपटक विघटन गरेपछि एमाले अध्यक्ष केपी ओलीलाई भट्टराईले प्रतिगमनकारी शक्तिको रुपमा लिन्छन्। पछिल्लो समय ओलीले संघियताविरोधी अभिब्यक्तिहरु दिइरहेको उनलाई पटक्कै मन परेको छैन। तर पनि राजनीति सम्भावनाको खेल भएकाले एकताको सम्भावनालाई टार्न सकिँदैन। उनी सामु खाएका यी चार विकल्पमध्ये अब उनले बचेखुचेका केही मधेशवादी नेता र अरु प्रगतिवादी मोर्चासँग मिलेर समाजवादी केन्द्र नामक पार्टी निर्माण गरी अगाडि बढ्न सक्छन्। तर, उनी यहाँ शतप्रतिशत फेल हुने विश्लेषण गरिन्छ।

अफ्ठ्यारो र झेल्न नसकिने नेता

२०७२ सालको नयाँ पार्टीको स्थापनापछि उनको राजनीतिक स्खलनको यात्रा झन् ओरालो लागेको थियो। यसो हुनुको प्रमुख कारण उनमा रहेको उच्च महत्वकांक्ष, अस्थिरता, नेतृत्व गर्न सक्ने खुबी नहुनु, सामाजिक संजालमा जथाभावी लेख्नु, बोल्नु, अनावश्यक तर्कवितर्क गर्नु, जातीय राज्यको मुद्दालाई प्रश्रय दिइरहनु, भारतपरस्त हुनु, सधैँ मनोगत हुनु लगायत कमजोरी रहेका छन्।

नयाँ शक्ति र जनता समाजवादी पार्टी बन्न नसक्नुमा उनकै यही चरित्रले काम गरेको पाइन्छ। संगठन निर्माण र कार्यकर्ता पंक्ती घुलमिल गर्न नसक्ने कतिपय अन्तरमुखी कमजोरीका कारण उनी अहिले राजनीतिमा कमजोर पात्र बनेका छन्।

बाबुराम तत्कालीन माओवादीबाट अलग्गिएर उपेन्द्रसँगको गठजोडमा लागेपछि अध्यक्ष प्रचण्डले भनेका थिए ‘बाबुरामजी कस्तो हुनुहुन्छ भन्ने कुरा मैले २५ वार्षसम्म झेलेँ। अब उपेन्द्रजीले थाहा पाउनु हुनेछ। बाबुरामजी निकै अफ्ठ्यारो र झेल्न नसकिने नेता हो।’

नभन्दै बाबुरामको त्यो जन्मजात गुण नयाँ शक्ति र जनता समाजवादी पार्टीमा पनि देखियो। उनीसंग सहकार्य गरेका कुनै शीर्ष नेता अहिले उनको पक्षमा छैनन्। जतिजति नेतासँग उनले सहकार्य गरेका छन्, सबैले उनको साथ छोडेका छन्। अब निर्माण हुने पार्टीमा पनि बाबुरामको यो प्रवृत्ति अन्त्य नहुने भन्दै नयाँ पार्टी बनाउनै नसक्ने तत्कालीन नयाँ शक्तिमा बाबुरामको सारथि बनेका अहिलेका शिक्षा मन्त्री देवेन्द्र पौडेल बताउँछन्।

उनले एक अन्र्तवार्तामा भनेका थिए, ‘बाबुरामजीमा मुलुक बनाउने तीव्र महत्वकांक्षा छ। अहोरात्र यो मुलुक बनाउनु पर्ने चिन्ता छ। देशभक्तिको भाव छ। यो सकारात्मक कुरा हो। तर उहाँमा नेतृत्व गर्ने खुबी छैन। उहाँले जुन पार्टी निर्माण गरे पनि हाँक्न सक्नुहुन्न।’

बाबुरामको गिर्दो शाखबारे उनी थप अगाडि भन्छन्, ‘उहाँ त राजनीति पार्टीको नेतृत्व गरेर बस्न भन्दा मुलुकका राष्ट्रिय आयोगजस्ता निकायमा बसेर सुझाव सल्लाह दिने ठाउँमा बस्दा राम्रो हुन्छ। राजनीति नै गर्ने हो भने उहाँ फेरि माओवादीमा फर्कनु पर्दछ। जति चाँडो माओवादीमा आउनुहुन्छ त्यति उहाँको बाँकी भविष्य छ। नयाँ पार्टीतर्फ लाग्नु भयो भने उहाँ फेरि पनि असफल हुनुहुन्छ। यतिखेरको असफलता भनेको बाबुरामजीको राजनीतिबाट सन्यास लिए बराबर हो।”

बाबुराम राजनीतिमा सधैं असफल

बाबुरामले यसरी राजनीति धरापमा राखे कि अब कसैले पनि उनको नेतृत्वलाई पत्याउने ठाउँ छैन। बाबुरामले कम्युनिष्ट सिद्धान्त नै परित्याग गरेपछि वर्तमान अवस्था निम्तिएको नेता मणि थापा बताउँछन्। बाबुरामले समय र परिस्थितिको मूल्यांकन गर्न नसकेर समय अगावै वैकल्पिक राजनीति अवलम्बन गरेकाले उनी असफलतातिर गएको थापाको विश्लेषण छ।

माओवादी नेता रामप्रसाद सापकोटा दीपशिखा बाबुराम राजनीतिमा सधैं असफल भएको टिप्पणी गर्दै सामाजिक संजालमा सुझाउँछन् ‘चिन्तन–मनन गरेर बस्नुस्। तपाई पार्टी संगठनको बोझिलो भारी नबोक्नुस्। तपाईं अहिलेसम्म कहिल्यै पास हुनुभएन। भूतपूर्व नेताको हैसियतले कहिलेकाँही बिछट्टै माया लाग्छ। बाबुराम भट्टराईलाई सुझाव।’

नयाँ पार्टी खोले पनि वाम पार्टीमै नरहनु उनको ठूलो भूल रहेको बताइन्छ। मध्यम वर्गीय परिवारमा हुर्केका उनका कमजोरीभन्दा धेरै त सबल पक्ष नै छन्। तर, आफूलाई सम्हाल्न नसक्दा उनका सारा सबल पक्षको आज चर्चा हुँदैन।

माक्र्सवादको गहिरो ज्ञाता, अर्थशास्त्रका विद्वान, पार्टीमा विचार र सिद्धान्त कोर्ने क्षमता भएका, राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँग पहुँच राख्न सक्ने उनले आगामी दिनमा कसरी राजनीतिक यात्रा अगाडि बढाउलान् रु त्यो त समयले नै बताउला।

प्रकाशित मिति : ३ श्रावण २०७९ मंगलबार ००:००  ७ : ३८ बजे