४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बिरानो बन्दै नेपाली भाषा, एसईईमा अत्यन्तै कमजोर नतिजा



काठमाडौं ।
बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ । यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली भाषा बिस्तारै बिरानो बन्दै गएको देखिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थी एक हजार ८०४ जना मात्रै छन् । ‘ए ग्रेड’ नै ल्याउने सामाजिक अध्ययन विषयका परीक्षार्थी पनि जम्मा तीन हजार २८३ जना मात्रै छन् ।

अधिकांश विद्यालय नेपाली भाषामा पढाइ हुने विषय यी दुई मात्रै हुन्। जबकि अङ्ग्रेजी विषयमा सबैभन्दा धेरै अर्थात् १५ हजार ३९९ जनाले ‘ए प्लस’ ल्याएका छन् ।

२०६८ सालको जनगणनाअनुसार मुलुकमा ४४ प्रतिशत नागरिक नेपाली भाषी छन् । तर एसईईको नतिजाले विद्यार्थी तथा अभिभावकमा समेत अङ्ग्रेजी मोह बढ्दै गएको र नेपाली भाषा क्रमशः बिरानो बन्न थालेको देखिन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९ शुक्रबार ००:००  ६ : ४८ बजे