७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

उपमेयरको नेतृत्वमा तुलसीपुर हवाई इन्धन डिपोमा तालाबन्दी



तुल्सीपुर ।
दाङको टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि स्थानीयले विमानस्थलमा तालाबन्दी गरेका छन् ।

उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले एयरपोर्टको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन् ।

आइतबार बाउजर मेसिन काठमाडौं फिर्ता लैजाने खबर पाएसँगै उपमेयर चौधरी, तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसी लगायतको टोली एयरपोर्टमा पुगेको थियो ।

विसं २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलो पटक गत जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने बाउजर दाङ एयरपोर्टमा ल्याइएको थियो । त्यही बाउजर पनि फिर्ता लैजान थालेपछि सर्वसाधारणदेखि स्थानीय जनप्रतिनिधि, व्यावसायी सबै विरोधमा उत्रिएका हुन् ।

त्यसक्रममा उपमेयर चौधरीले कुनै पनि हालतमा बाउजर मेसिन फिर्ता जान नदिने र त्यस्तो स्थिति उत्पन्न भए सर्वसाधारण नागरिकलाई साथमै लिएर सडकमै सुत्ने बताइन् ।

वडाध्यक्ष खुसीराम चौधरीले पनि दाङको एक मात्र टरिगाउँ एयरपोर्टको विकासले विस्तारै गति लिइरहेको समयमा इन्धन भर्नका लागि आएको उपकरण फिर्ता लैजानु विकासमा भाँजो हाल्ने षडयन्त्र भएको बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७९ आइतबार ००:००  ७ : १४ बजे