४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

प्यूठानमा चैते धान स्याहार्ने चटारोमा किसान



प्यूठान ।
प्यूठानका किसान अहिले चैते धान स्याहार्ने चटारोमा छन् । चैतमा रोपेको धान यहाँका किसानले स्याहार्न थालेका हुन ।

यस वर्ष झिमरुक फाँटमा पनि चैते धान रोपाइँ भएको थियो । फाँटमा पहिलोपटक धान रोपाइँ गरेका किसान यसको उत्पादनलाई लिएर निकै खुसी देखिएका छन ।

चैते धान काट्दै गरेकी प्यूठान नगरपालिका–९ मरन्ठानाकी कृष्णाकुमारी केसीले धान निकै राम्रो फलेको प्रतिक्रिया दिइन ।

‘धानका बाला लटरम्म फलेर झुलेका छन्,’ उनले भनिन्, ‘यो देखेर अरु किसान पनि लोभिनुभएको छ ।’ फाँटमा साउन महिनामा धान फलेको देख्दा अरु किसान पनि यसतर्फ आकर्षित भएको उनले बताइन ।

सरकारी तथ्यांक अनुसार नेपालमा वार्षिक २ लाख मेट्रिक टन चैते धान उत्पादन हुन्छ । त्यसलाई बढाएर ६ लाख पु¥याउने सरकारको लक्ष्य छ । यहाँको विशेष गरी ऐरावती गाउँपालिकाका विभिन्न क्षेत्रमा चैते धान हुँदै आएको छ ।

यहाँका बरौला, दाङबाङ, बिजुली, चुजाठाँटी क्षेत्रमा चैते धान लगाउने गरेको ऐरावती गाउँपालिका–१ का वडाध्यक्ष अमरबहादुर रेस्मीले बताए ।

तीन बाली खेतीले जिल्लामा अन्न आयातलाई केही कम गर्न सहयोग गर्ने उनले बताए । यहाँका प्रायः फाँटमा बाह्रैमास सिँचाइ सुविधा छ । झिमरुक नदी र यसका सहायक नदीमा पानी पर्याप्त हुँदा सिँचाइको कुनै समस्या नभएको रेस्मीले बताए । पहिलोपटक चैते धान लगाएका मरन्ठानाका रामबहादुर केसीले उत्पादनले सन्तुष्टि दिएको बताए ।

प्यूठानमा ४२ हजार हेक्टर खेतीयोग्य जमिन छ । यसमध्ये २२ हजार हेक्टरमा मात्रै खेती गर्ने गरिएको सरकारी तथ्यांक छ । झिमरुक र यसका सहायक नदी आसपासका फाँटमा धान खेती हुन गरेको छ । यहाँ ६ हजार ५ सय ७५ हेक्टरमा धान खेती हुन्छ ।

त्यसमध्ये चैते धान करिब साढे २ सय हेक्टर क्षेत्रफलमा हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धान जोन प्यूठानका प्रमुख चुमानसिंह गिरीले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७९ सोमबार ००:००  ७ : ०२ बजे