१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

पेट्रोलियम पदार्थको भाउ भारतबाट फेरि घटेर आयो, आयल निगम भने चुप !



काठमाडौँ ।
भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।

अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले यहाँ घटाएन । मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ ।

अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगम स्रोतले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ । यो भाउ अझै घट्ने अनुमान छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९ सोमबार ००:००  ४ : ४९ बजे