५ असार २०८२, बिहिबार | Fri Jun 20 2025

सिद्धार्थ क्याम्पस बुङ्चीलाई सक्दो सहयोग गर्ने मन्त्री यादवको प्रतिवद्धता



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले कपिलवस्तुको सिद्धार्थ क्याम्पसलाई सक्दो सहयोग गर्ने वचन दिएका छन् ।

क्याम्पस सञ्चालक समितिले बुधबार क्याम्पसमा राखेको मन्त्री स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यादवले उक्त वचन दिएका हुन् ।

सिद्धार्थ क्याम्पसको प्रगतिबारे आफू नजिकबाट जानकार रहेको भन्दै यसको स्तर वृद्धिमा मनै देखि आफ्नो सहयोग रहने मन्त्री यादवले बताए ।

बजेटको निश्चित आकार र आफ्नै कानुनी बाध्यता रहेको भन्दै क्याम्पसले निकट भविष्यमा बनाउँदै गरेको नयाँ भवनका लागि आफूले सक्दो पहल गर्ने उनले प्रतिवद्धता जनाए ।

अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख खेमराज शर्माले मन्त्री यादवलाई क्याम्पसको नयाँ भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

क्याम्पस प्रमुख शर्माले ०४८ साल देखि सञ्चालनमा आएको क्याम्पसको पुरानो भवन जिर्ण भएको भन्दै यसको विकल्प स्वरुप नयाँ भवन बनाउने योजना मन्त्री यादव समक्ष सुनाएका थिए ।

नयाँ भवन बनाउन ठूलो रकम लाग्ने भन्दै यसमा प्रदेश सरकारको महत्वपूर्ण साथ खोजेको उनले बताएका थिए ।

०७२ सालमा गएको भुकम्पले हाल सञ्चालनमा आएको क्याम्पसको भवन चर्काएको छ ।

उक्त भवनको विकल्पमा क्याम्पसले अर्को भवन बनाउन खोजेको छ । यद्यपि बजेट नहुँदा समस्या आएको भन्दै क्याम्पस सञ्चालकले मन्त्री यादवलाई क्याम्पसमै निमन्त्रणा गरेर आफ्नो समस्या सुनाएको हो ।

उक्त अवसरमा लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले सबै पक्षको सहयोग मिले क्याम्पसको नयाँ भवन बनाउन सकिने भन्दै प्रदेश सरकारसंग यसका लागि आफूले आफ्नो तवरबाट पहल गरिरहेको अवगत गराएका थिए ।

क्याम्पस सञ्चालक समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले केन्द्र सरकारले सामुदायिक क्याम्पसको भवन बनाउनका लागि सिधै बजेट हाल्न नमिल्ने प्रावधान रहदा समस्या भएको बताएकी थिइन् ।

‘क्याम्पसको भवन बनाउनका लागि मैले पटक पटक पहल गरेकी छु । क्याम्पसको आफ्नो नाममा जग्गा नहुनु र क्याम्पसले आफ्नो आन्तरिक कोषबाट साझेदारीमा बजेट हाल्न नसक्दा समस्या देखियो, राष्ट्रिय सभा सदस्य घिमिरेले भनिन्, यी यावत् समस्याले गर्दा अफ्ठयारो भयो, काम गर्न सकिएन् ।’

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले नगरले क्याम्पसका लागि सक्दो सहयोग गरेको बताए । निश्चित बजेटको सीमामा नगर रहेपनि क्याम्पसका लागि सकेको सहयोग गरेको भन्दै प्रदेश सरकारबाट थप सहयोगको आशा राखिएको नगर प्रमुख अर्यालले बताए ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष झविलाल पोख्रेलले सिद्धार्थ क्याम्पसले शैक्षिक जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । कपिलवस्तुको शिक्षा जगतलाई माथि उकास्न सिद्धार्थ क्याम्पसको भूमिका महत्वपूर्ण रहेको भन्दै यसको स्तरउन्नतिका लागि सबै पक्षबाट साथ रहनुपर्नेमा अध्यक्ष पोख्रेलले जोड दिए ।

सहायक क्याम्पस प्रमुख गोविन्द खनालको सञ्चालन रहेको अन्तरक्रियामा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रवि बहादुर काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।

अन्तरक्रियामा क्याम्पसका प्रध्यापक, स्ववियू सभापतिसहित जिल्लाका क्रियाशिल ६ विद्यार्थी संगठनका जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७९ बुधबार ००:००  ८ : २१ बजे