२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

कर्मचारी परिषद्को आन्दोलनका कारण कपिलवस्तुका सामुदायिक विद्यालयको पठनपाठन बन्द



मायादेवी अनलाइन,जितपुर ।

नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण कपिलवस्तु सहित देशैभरका सामुदायिक विद्यालयको पठनपाठन बन्द भएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले भदौँ १२ अर्थात आजदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेअनुसार सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द भएको हो ।

परिषद्ले सरकार समक्ष बिभिन्न ८ बुँदे माग राख्दै आएकोमा सरकारले माग सम्बोधन गर्न वेवास्ता गरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक विद्यालय बन्द गरिएको बाल माबि बैरियाका लेखापाल धर्मबहादुर क्षेत्रीले मायादेवी अनलाइनलाई बताए । सोहि अनुरुप कपिलवस्तुको बाणगंगा नगरपालिका सहित जिल्लाका १० वटै पालिकाका सामुदायिक विद्यालयको पठनपाठन पनि आज देखि एक साता सम्मका लागी बन्द गरीएको छ । यस्तै बुद्धभुमि नगरपालिका सहितका केही केही पालिकाले भने तिजको बिदा समायोजन गरि विद्यालयमा बिदा दिएका छन् ।

यसैबिच नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलन प्रति नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कपिलवस्तुका अध्यक्ष टीकाराम पौडेलले ऐक्यवद्धता जाहेर गर्नु भएको छ । उहाँले शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ र नेपाल सरकार वीच विगतमा भएका संझौता कार्यान्वयन नभएकोले आम शिक्षकहरू अन्यायमा परेको यथार्थलाई मनन गरि अबिलम्ब आन्दोलनका कार्यक्रम ल्याउन शिक्षक महासंघ लगायत सबै घटक संस्थाका राष्ट्रिय समितिहरू समक्ष जोडदार माग समेत गर्नुभएको छ । यस्तै नेपाल शिक्षक संघ कपिलवस्तुका अध्यक्ष अफाक अहमद खाँले पनि कर्मचारी परिषद्को आन्दोलनमा एक बिज्ञप्ति जारि गदै पूर्ण ऐक्यबद्दता जनाउनु भएको छ ।

नेपाल कर्मचारी परिषद्ले आफुहरुले राखेको माग सम्बोधन गर्नका लागि दबाब स्वरुप भदौ १ गते बाट नै बिभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएको काम्ता माबि करेलियाका लेखापाल चिरन्जिवी पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०७९ आइतबार ००:००  १ : ५५ बजे