३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

बाणगंगाको हथौसा लिटिल स्टारमा ७ औँ एसक्युसी हव सम्मेलन हुँदै



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बाणगंगामा ७ औँ हव कन्भेन्सन अर्थात बिद्यार्थी गुणिय चक्र पहिचानका लागि एक बिशेष कार्यक्रम हुने भएको छ ।

बाणगंगाको हथौसा लिटिल स्टार इंग्लिस बोर्डिङ स्कूलमा आगामी भाद्र १७ गते उक्त कार्यक्रम हुने भएको हो ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले भोगेका र देखा परेका समस्याहरुको केस स्टडी मार्फत पहिचान गरी समस्या समाधानमा उनीहरुले गरेको प्रयासलाई सबै सामु सार्वजनिकीकरण गराइने छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनी हवका संयोजक मिलन भण्डारीले विद्यार्थीहरुले समस्याको पहिचान मात्र नभई बैज्ञानिक र आधुनिक तरिकाले समस्या समाधान गर्न विद्यार्थी आफै सक्षम हुन यस कार्यक्रमले ठूलो टेवा पुग्ने बताउनु भयो ।

विद्यार्थीको निकट भविष्यमा पर्ने समस्यासँग विद्यार्थी आफै जुध्न सक्ने बताउँदै उनीहरुमा विभिन्न प्रतिभाको विकास हुने बताउनुभयो ।

यस्तै कार्यक्रममा हथौसा लिटिल स्टार इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल सुन्दर पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीको सुनौलो भविष्य निर्माण हुने बताउँदै विद्यार्थीको शिक्षासँगै नेतृत्व विकासमा ठूलो सहयोग हुने बताउनु भयो ।

विद्यार्थीको पढ्ने, क्षमता र प्रतिभा खोज्ने प्रयासमा विद्यालय सधै लागि परेको बताउँदै विद्यार्थीमा पढाइप्रति प्रोत्साहित गराउन यस कार्यक्रमले मद्दत पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा विद्यार्थीले कुनै बिषयवस्तुमा आधारित रही समुदाय स्तरमा प्रत्यक्ष सहभागी भएर खोजमुलक बिषयबस्तुलाई प्रस्तुत गर्ने छन् । जसबाट विद्यार्थीलाई नयाँ नयाँ विषयबस्तु बारे पनि अनुभव र जानकारी हुने छ ।

उक्त कार्यक्रममा एसक्युसिमा आबद्ध रहेका रुपन्देहीको एक र कपिलवस्तुको १७ वटा विद्यालय गरी १८ वटा बिद्यालयका करिब २०० जना विद्यार्थी सहभागिता हुने छन् ।

कार्यक्रममा बिद्यार्थीले हाजिरीजवाफ, कथाको प्रस्तुतिकरण लगाएतका बिभिन्न ५ वटा बिधामा रहेर प्रतिस्पर्धा गर्ने छन् । सो कार्यक्रममा एस.क्युसिमा सदस्यता लिएका विद्यालय मात्र सहभागी हुन पाउने बताइएको छ ।

हथौसा लिटील स्टार इंग्लिस बोर्डिङ स्कुलमा १७ गते बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म हुने कार्यक्रममा लुम्बिनी प्रदेशका सार्वजनिक लेखा समितिका सचिब बिष्णृु पन्थीले उद्घाटन गर्ने बताईएको छ । यस्तै कार्यक्रमको सम्पूर्ण तयारी पनि पुरा भएको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा ज्ञानपुन्ज बोर्डिङ स्कूल राजपुरका ब्यवस्थापक रोमाकान्त घिमिरे, ज्ञानज्योती बोर्डिङ स्कूल बैदौलीका अध्यक्ष युवराज पोखे्रल, लुम्बिनी भिजन कलेजका सहायक प्रिन्सिपल मनोज कुमार खत्री, अन्नपूर्ण मा.वि. कोपवाका प्रिन्सिपल मदन मल्ल लगाएत बिद्यालयका शिक्षक, पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ भदौ २०७९ बुधबार ००:००  ७ : ०७ बजे