३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

दाङमा यस वर्ष धान उत्पादन घट्ने



दाङ ।
दाङमा समयमा पानी नपरेकाले यस वर्ष धान उत्पादन घट्ने भएको छ । जिल्लामा आकाशे पानीबाट खेती लाग्ने जमीन बाँझै छन् । यस वर्ष समयमै पर्याप्त वर्षा नहुँदा भदौ अन्तिम सातासम्म पनि रोपाइँ हुन सकेको छैन ।

जिल्लाको लमही नगरपालिका–१ नर्तीका रुपलाल चौधरीले १० कठ्ठा खेतमा धानखेती गरेका छन् । ‘समयमा मल पाइएन, मल पाउँदा पानी भएन, मोटरबाट जसोतसो पानी तानेर खेती गरियो,’ उनले भने, ‘गत वर्षजस्तो उत्पादन हुँदैन ।’

घोराही–६ का किसान बुद्धिराज वलीले ६ कठ्ठा जमीनमा लगाएको धान सबै सुकेर पहेँलो भएको छ । ‘धानका गरामा धाँजा फाटेको छ, पूरै धान फल्ने आशा छैन, बीउ उठ्छ कि भन्ने लागेको छ,’ उनले भने । जिल्लाका अधिकांश ठाउँमा रोपाइँ भए पनि केही ठाउँमा भने पानीको अभावमा खेत बाँझै भएको कृषि ज्ञान केन्द्र दाङले बताएको छ । देउखुरी क्षेत्रमा धान रोपाइँ भए पनि घोराही, तुलसीपुर र त्यसभन्दा पश्चिम क्षेत्रका कृषकले धान रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मनोजकुमार सिंहले बताए ।

उनका अनुसार यस वर्ष ८५ प्रतिशतमात्र धानखेती भएको छ भने बाँकी १५ प्रतिशत खेत बाँझै छ । मौसम प्रतिकूलताका कारण अहिले जिल्लामा सबै ठाउँमा धान रोपाइँ नभएकाले धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।

जिल्लामा ६५ हजार ९८० हेक्टर जमीन खेतीयोग्य छ । त्यसमध्ये ३८ हजार ५०० हेक्टर जमीनमा धानखेती हुँदै आएको छ । १९ हजार ६५१ हेक्टर जमीनमा पूणरूपमा सिँचाइ सुविधा पुगेको छ भने बाँकी ३९ हजार २११ हेक्टर जमीनमा आंशिक सिँचाइको व्यवस्था छ ।

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार गतवर्ष अघिल्लो वर्षको तुलनामा ९ हजार ३०५ मेट्रिक टन बढी धान उत्पादन भएको थियो । सो वर्ष ३८ हजार ४९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा १ लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको केन्द्रका सूचना अधिकारी सिंहले जानकारी दिए ।

कृषकले सुक्खा–२, ३, रामधान, विन्देश्वरी, सामा मन्सुली, सावित्री, हाइब्रिड, यूएस–३१२ जातका धानका बीउ रोपेका छन् । लमही, चैलाही, गोवडिया, रामपुर कर्जाही, चैनपुर, फचकपुर, गुरुवागाउँ, गुरगै, बिजौरी, पर्सेनीलगायत ठाउँमा बढी धानखेती हुन्छ । कृषकले विभिन्न उन्नत तथा स्थानीय जातको धान लगाएका छन् । दाङको देउखुरी क्षेत्रमा छिटो धान रोपाइँ हुने गर्दछ । जिल्लाका विभिन्न स्थानमा मकैजोन कार्यक्रम मात्र नभई तोरीजोन, स्मार्ट कृषिगाउँ लगायत कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । रासस

प्रकाशित मिति : २३ भाद्र २०७९ बिहिबार ००:००  १० : ११ बजे