२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

नेकपा एसले शिवपुरमा खोल्यो चुनावी प्रचार कार्यालय



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) ले शिवराज नगरपालिका वडा नं. १ मा वडा स्तरीय चुनावी प्रचार प्रसार कार्यालयको स्थापना गरेको छ ।

आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ३ को प्रदेश सभा ‘क’मा उम्मेदवारी दिएको एकीकृत समाजवादीले चुनावी प्रचार अभियान अन्तर्गत शिवपुरमा कार्यालय खोलेको हो ।

समाजवादीले प्रदेश सभामा जीवलाल पौडेललाई उम्मेदवार बनाएको छ । पौडेल पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

वडा प्रचार कार्यालय उद्घाटन गर्दै नेकपा (एस)का केन्द्रीय सदस्य क्षेत्र बहादुर खत्रीले आसन्न चुनावमा कलम चिह्नमा मतदान गरी जीवलाल पौडेललाई जिताउन आग्रह गर्नुभयो । यो क्षेत्रको विकासका लागि समाजवादीले जित्नु पर्ने भन्दै विगतमा चुनाव जितेकाले खासै विकास गर्न नसकेको बताउनुभयो ।

एमाले भित्र व्यक्तिवाद, निरङ्कुश प्रवृत्ति हावी भएकाले कम्युनिष्ट पार्टीको पुनर्गठन गर्न आफूहरु बाध्य भएको बताउनुभयो । कम्युनिष्ट आन्दोलन बचाई बैज्ञानिक समाजवाद स्थापनाका लागि पनि कलम चिह्नका उम्मेदवारले चुनाव जित्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले देशभर गठबन्धन गरेर चुनावमा आफूहरु होमिएको भन्दै संघमा गठबन्धनका उम्मेदवारलाई भोट हाल्ने प्रस्ट पार्नुभयो ।

समाजवादीका केन्द्रीय सदस्य पीताम्बर सारुले जीवलाल पौडेलको मेहनत र संघर्ष उदाहरणीय रहेको बताउनुभयो । सानो उमेर देखि नै कम्युनिष्ट पार्टीमा सक्रिय भएका पौडेल आम मतदाताको रोजाईको उम्मेदवार बन्ने बताउनुभयो ।

सोही कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मीना परियार, जिल्ला अध्यक्ष लंक बहादुर हमाल, पार्टी उपसचिव सरोज पौडेल, नेता डा.मन्जुर खाँ, अब्दुल हक लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९ बिहिबार ००:००  ७ : ५९ बजे