५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार गाडी दुर्घटना, दुई जनाको मृत्यु, आधा दर्जन घाइते



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझपख जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो ।

चारनम्बरबाट तौलिहवा तर्फ जादै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिदैं दुर्घटनामा परेको प्रत्यक्षदर्शीले मायादेवी अनलाइनलाई बताएका छन् ।

मृत्यु हुनेमा सवारी चालक सशस्त्र प्रहरी जवान रमेश चौधरी रहेको प्रहरीले जनाएको छ । यस्तै स्थानीय अमर तङनामीको पनि निधन भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ । थप ४ जनाको सामुदायिक अस्पताल चारनम्बरमा उपचार भइरहेको छ ।

स्थानीयबासी बुद्धिप्रसाद पाण्डेले सशस्त्र प्रहरीको लापरबाही कै कारण ट्रक दुर्घटनामा परेको आरोप लगाएका छन् । चालकको गम्भीर लापरबाही भएको भन्दै पीडित आन्दोलित भएका छन् । सवारी दुर्घटनास्थलमा स्थानीयले सशस्त्र प्रहरी माथि छानविन हुनुपर्ने माग गर्दै आन्दोलन गरेका छन् ।

यता स्थानीय प्रशासनले दुर्घटनाबारे अनुुसन्धान भइरहेको बताएको छ । स्थानीयबासीको भनाई र दुर्घटनास्थलको प्रकृति हेरेपछि थप भन्न सकिने प्रहरीको भनाई छ ।

यो पनि… कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनाः दुर्घटनाग्रस्त ट्रकमा मदिरा भेटिएको स्थानीयको आरोप

प्रकाशित मिति : ४ कार्तिक २०७९ शुक्रबार ००:००  ७ : ५८ बजे