मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा पनि डेंगीको रोग फैलिदै गए पछि त्यस विरुद्ध अभियान संचालन गरिएको छ । जिल्लाका चार पालिकामा डेंगी विरुद्ध अभियान संचालन गरिएको हो ।
राजमार्ग क्षेत्रमा पर्ने पालिकाहरु बाणगंगा, बुद्धभूमि, शिवराज र महाराजगंज नगरपालिकामा डेंगी विरुद्ध अभियान संचालन गरिएको हो । बाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा खोज र नष्ट गर अभियान र महाराजगंज नगरपालिकामा डेंगी विरुद्ध बिषादी छर्ने काम सुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको बाणगंगा, बुद्धभूमि र शिवराजमा डेंगी रोगका विषयमा सरोकारवालासंग छलफल गरी कार्यक्रम अघि बढाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए । लामखुट्टेको लार्भा नष्ट गर्न सो अभियान संचालन गरिएको हो । उनले जिल्लामा समेत डेंगी रोगका बिरामीहरु बढदै गए पछि पालिकाहरुसंग समन्वय गरी सचेतनामुक कार्यक्रम संचालन गरिएको बताए ।
बुद्धभूमि नगरपालिका मेयर केशव कुमार श्रेष्ठले आफनो पालिकाको पाँच वटा वडाको बजार क्षेत्रमा सचेतनामुलकसहित खोज र नष्ट गर भन्ने अभियान संचालन गरिएको बताए । वडा नम्बर १ को पत्थरकोट, २ को गोरुसिंगे, ९ को इमिलिया, ६ को महुवा र १० को चेत्रादेइमा खोज र नष्ट गर अभियान संचालन गरिएको हो । मेयर श्रेष्ठले कार्ययोजना बनाई काम अघि बढाइएको बताए ।
उता महाराजगंजका मेयर अब्दुल कलामले आफ्नो पालिकाको बजार क्षेत्रमा सशस्त्र प्रहरीसंग सहकार्य गरी बिषादी छर्ने काम सुरु गरिएको बताए । उनले फाटफुटरुपमा आफ्नो पालिकामा समेत डेंगीका बिरामी भेटिएको बताए । पालिकाको बजार क्षेत्रमा सचेतनामुलक कार्यक्रम समेत गरिएको उनको भनाइ छ ।
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले आफ्नो पालिकामा जिल्लाको सबै भन्दा बढी डेंगीका बिरामी फेला परेको बताए । उनले पिपरा अस्पतालमा जाँचको व्यवस्था गरिएको बताए । पालिकाको बजार क्षेत्रहरुमा खोज र नष्ट गर अभियान संचालन गरिएको बताए ।
संचार माध्यममा डेंगीका संबन्धि सचेतनामुलक सन्देश प्रकाशन प्रसारण गरिएको बताए । जिल्लाभर नै अहिले डेंगीका सन्त्रास फैलिदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार जिल्लामा अहिलेसम्म २ सय बढी संक्रमित फेला परेको बताए । गत २ महिना यता उपचार गराउन आउनेहरु मध्ये अधिकांश विरामी डेंगी लागेको हुनसक्ने भन्दै सशंकित हुने गरेका छन् ।
पछिल्लो समय भाइरलका विरामीको समेत चाप बढ्ेको छ । पिपरा अस्पताल र कपिलस्तु अस्पतालमा बिरामीहरुको चाप बढेको छ । भाइरल ज्वरो र डेंगीको लक्षण मिल्दोजुल्दो रहेकोले अस्पतालमा अहिले चााप निकै बढेको कपिलवस्तु अस्पतालमा मेसु किशोर बन्जाडेले बताए ।
‘निःशुल्क जाँच हुने भएकाले शंका लागे पछि बिरामीहरु उपचारमा आउछन्’ उनले भने ।
उता उपभोक्ता हकहित संरक्षण मञ्चका सदस्य मनोज श्रीवस्तवले जिल्लामा रहेका १० पालिकाहरुले डेंगी नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको बताए । ‘केही पालिकाले डेंगीका विषयमा चासो लिएका छन तर त्यो प्रर्याप्त छैन्’ उनले भने ।
सफा पानीमा बस्ने एडिस जातको लामखुट्टले टोके भने डेंगी लाग्ने गर्दछ । घरमा रहने गमला, कुलर, टायरको पानीमा सो लामखुट्टे बस्ने गर्दछ । प्रायः उज्यालो समय मै सो लामखुट्टले टोक्ने गर्दछ । डेंगीबाट बच्न जिल्लाका १० वटै पालिकाले सचेतनाका कार्यक्रम संचालन गर्नु पर्ने निमित्त प्रमुख श्रीवास्तवले बताए ।
प्रतिक्रिया