१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चुनावपछि एमालेलाई ५ बर्षको लागि ‘होमवर्क’ दिन्छौँः बलदेव



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ‘१’ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चक्रपाणी खनाल (बलदेव) ले चुनावपछि एमालेले ५ बर्षको लागि होमवर्क पाउने बताएका छन् । सत्तासिन वाम-लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ मा साझा उम्मेदवार रहेका खनालले आफ्नै गल्तीको कारण ५ बर्ष करेक्सन हुने ‘होमवर्क’ एमालेले पाउने दावी गरेका हुन् ।

चुनाव प्रचार प्रसारको क्रममा कपिलवस्तु नगरपालिकाका बिभिन्न वडामा घरदैलो गर्ने क्रममा खनालले भने ‘अब ५ बर्षको लागि एमालेले राम्रै होमवर्क पाउने छ । एमाले पार्टी आफैमा नराम्रो होइन, केपी ओलीका कारण धुजाधुजा भइसकेको छ । अहिलेको चुनावले पनि त्यो कुरा देखाउने छ । हामीले नभई जनताले नै ओली नेतृत्वको एमालेलाई ५ बर्ष विश्राम गर्न अवसर दिने छन् ।’

त्यो कस्तो खालको होमवर्क हो भने ‘ओली तानाशाह भए । एमालेभित्र ठुलो लडाई र किचलो अहिले पनि छ । भीम रावल र घनश्याम भुसालजस्तालाई ओलीले पाखा लगाइसके । माधव र झलनाथ जिले पार्टी खोलेपछि ओलीसंग नजर जुधाउने कोही छैन । मंसिर ४ पछि एमाले सदनमा कमजोर हुने छ । अनि मात्र अरु नेता कार्यकर्ताले बुझ्ने छन् । त्यो बुझ्दा एमालेमा अर्को विद्रोह भइसकेको हुने छ । ओलीकै कारण चुनाव हारेको समिक्षा हुने छ । अनि एमालेमा खैलबैला हुने छ । ५ बर्ष सत्तामा नरहँदाको पीडा एमाले नेता र कार्यकर्ताले भोग्ने छन् । त्यसपछि एमालेभित्रको अर्को विद्रोह सार्वजनिक हुने छ । र त्यही अनुसार होमवर्क गरी बस्ने छन्’, बलदेवले स्पष्ट पारे ।

वलदेवले थपे ‘कपिलवस्तुमा पनि एमालेहरुले चुनावपछि त्यही म्याण्डेड पाउने छन् ।’ जिल्लाका ९ वटै क्षेत्रमा वाम लाकतान्त्रिक गठबन्धनले जित हासिल गर्ने उनको दावी छ ।

नेकपा माओवादीका सचिव तथा पूर्वमन्त्रीसमेत रहेका खनालले तत्कालिन प्रधानमन्त्री ओलीले आफूलाई हस्तक्षेत्र नगरेको भए धेरै हदमा नेपाल लगायत कपिलवस्तुको कृषि क्षेत्रमा प्रगति भइसकेको हुने बताए । ‘हिजो ओली नेतृत्वका हस्तक्षेपका कारण भनेजसरी काम गर्न सकिएन । मन्त्री बनेर केही सिकियो पनि । अब त्यो गल्ती हुन दिन्नँ । वलदेवले केही गरेन भनेर विपक्षीले जति भ्रम छरे पनि जनताले बुझिसकेका छन् । कपिलवस्तुमा गठबन्धनको शक्तिलाई कसैले रोक्न सक्दैन । मैले अरु धेरै भनिनँ त्यो चुनावपछि नै देखिने छ’, वलदेवले भने ।

घरदैलेमा क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार डोलकराम घिमिरे, वाम-लोकतान्त्रिक गठबन्धनका केन्द्रिय प्रचारप्रसार सदस्य आशिष शर्मा लगायतको सहभागिता थियो ।

यता कपिलवस्तु नगरपालिकाका १० नम्बर वडाका मतदाताले अरु उम्मेदवारभन्दा पनि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सक्षम र इमान्दार रहेको सुनाए । मतदाताले विकास गर्ने शर्तमा गठबन्धनलाई भोट दिने बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९ सोमबार ००:००  ५ : ५७ बजे