२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

भारत सरकारद्वारा नेपाललाई २०० सवारीसाधन प्रदान



काठमाडौं ।

भारत सरकारले नेपाललाई २०० वटा सवारीसाधन प्रदान गरेको छ ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गर्नुभएको हो।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन आसन्न निर्वाचनका लागि प्रयोग गरिने बताइएको छ। । जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् ।

सोही अवसरमा अर्थमन्त्री शर्माले यी सवारीसाधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई भारतले निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिनुभयो ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ ।

‘भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी सवारीसाधनको हस्तान्तरणले जनता जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।’ दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १५ कार्तिक २०७९ मंगलबार ००:००  १ : ५२ बजे