१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तु २ : सदावहार सांसद गुप्तालाई रोक्ने दाउमा आचार्य



मायादेवी अनलाइन, बाणगंगा ।
तीन प्रतिनिधि सभा रहेको कपिलवस्तुमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ सबैको चासोको केन्द्रमा छ । ०५६ देखि लगातार चुनाव जित्दै आउनुभएका वृजेश कुमार गुप्ता लडेको यो निर्वाचन क्षेत्रलाई चासो पूर्वक हेरिएको हो ।

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गुप्तालाई जिल्लामा सदावहार सांसदका रुपमा हेर्छन् । जिल्ला सदरमुकाम समेत पर्ने यो निर्वाचन क्षेत्रमा गुप्ता नेकपा एमालेबाट चुनावी मैदानमा हुनुहुन्छ ।

गुप्तासंग नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य भीड्दै हुनुहुन्छ । ०७४ सालको निर्वाचनमा दुबै जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । एमालेको सूर्य चुनाव चिह्न लिएर चुनावमा होमिनुभएका गुप्ताले चुनाव जित्नुभएको थियो ।

गुप्ता ०५६ देखि लगातार संघीय सांसद रहदै आउनुभएको छ । भगवानदास गुप्ताका छोरा रहनुभएका गुप्ता बावुको अवसान पश्चात राजनीतिमा उदाउनुभएको हो । उहाँले ०५६ मा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायलाई हराउनुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जित्नुभएका गुप्तालाई एमालेले अघोषित रुपमा सघाएको थियो ।

०५६ मा एमालेबाट अघोषित रुपमा साथ पाएका गुप्ता विभिन्न दल बदल्दै अन्ततः यो निर्वाचनमा एमालेबाट आधिकारिक उम्मेदवार बन्नुभएको हो ।

पूर्व कानुनमन्त्री समेत रहेका गुप्ता ०६४, ०७० मा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । तत्कालिन संविधान सभा निर्वाचन क्षेत्र नं. ३ रहेको यो क्षेत्र हाल संघीय संरचना अनुसार क्षेत्र नं. २ पर्दछ ।

०७४ मा बामगठबन्धनको साझा उम्मेदवार बन्नुभएका उहाँ हृदेश त्रिपाठी समूहबाट सूर्य चिह्न लिएर चुनावमा होमिदा तत्कालिन कांग्रेस जिल्ला सभापति तथा सिंचाई राज्यमन्त्री आचार्यलाई झण्डै चार हजार मतान्तरले पराजित गर्नुभयो ।

गुप्ताले ३५ हजार १२७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार ५६६ मत ल्याउनुभएको थियो ।

कांग्रेस उम्मेदवार आचार्य ०७० को संविधान सभामा निर्वाचित भए पनि त्यस उता र यता कुनै चुनाव जित्नुभएको छैन् । ०५६ मा कांग्रेसबाट टिकट नपाए पछि बागी उम्मेदवार बन्नुभएका आचार्यले ०७० सालमा संविधान सभा निर्वाचन क्षेत्र नं. ४ बाट चुनाव जित्नुभएको हो । गुप्ता र आचार्य बीचको प्रतिस्पर्धा भने दोस्रो पटक हुन थालेको छ ।

गुप्ताले ०६४ र ०७० मा कांग्रेस नेता सुधाकरण पाण्डेयलाई हराउँदै चुनाव जित्नुभएको थियो । आचार्यले ०७० मा एमालेका नेत्रराज अधिकारीलाई हराएर विजयी हुनुभएको थियो । ०७४ मा मात्र उहाँ दुबै जना बीच प्रतिस्पर्धा हुन पुगेको हो ।

प्रतिनिधिसभा २ बुद्धभूमि नगरपालिकाका १० वटै वडा, कपिलवस्तु नगरपालिकाका ७ वडा, यशोधरा गाउँपालिकाका ८ वटै वडा र महाराजगन्ज नगरपालिकाका ७ वडा मिलेर बनेको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार बुद्धभूमि नगरपालिकाको नगर प्रमुख, उपप्रमुख कांग्रेसले जित्दा वडा नं. १, वडा नं. २, वडा नं. ६, वडा नं. ८ र वडा नं. ९ गरी पाँच वडामा कांग्रेस विजयी भएको छ । एमालेले वडा नं. ३, वडा नं. ४, वडा नं. ५ र वडा नं. ७ मा जित हात पारेको छ । वडा नं. १० मात्र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले जितेको छ ।

यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । ८ वडा मध्ये वडा नं. १, वडा नं. २ र वडा नं. ८ एमाले उम्मेदवारले जितेका छन् । वडा नंं. ३ र वडा नं. ७ कांग्रेसले जितेको छ । वडा नं. ६ जनमत पार्टीले जित्दा वडा नं. ४ जसपाले जितेको छ भने वडा नं. ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कपिलवस्तु नगरपालिकाको नगर प्रमुख र उपप्रमुख जसपाले जितेको छ । १२ वडा मध्ये वडा नं. ७, वडा नं. ८, वडा नं. ९, वडा नं. १० र वडा नं. ११ प्रतिनिधिसभा १ मा पर्दछन् ।

प्रतिनिधि सभा २ मा पर्ने वडा मध्ये एमालेले वडा नं. २, वडा नं. ४, वडा नं. ६ मा जित हात पारेको छ । कांग्रेसले वडा नं. ३, वडा नं. ५ र वडा नं. १२ जितेको छ । जसपाले वडा नं. १ मात्र जितेको छ ।

महाराजगन्ज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख कांग्रेसले जितेको छ । ११ वडा रहेको यो नगरका वडा नं. १, वडा नं. २, वडा नं. ३, वडा नं. ४, वडा नं. ८, वडा नं. ९ र वडा नं. १० यो निर्वाचन क्षेत्रमा पर्दछन् ।

जसमध्ये वडा नं. १, वडा नं. २, वडा नं. ३, वडा नं. ८ र वडा नं. १० कांग्रेसले जितेको छ । वडा नं. ४ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले जित्दा वडा नं. ९ मात्र एमालेले जितेको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरु पाएको मतको आधारमा नेपाली कांग्रेस अगाडि देखिन्छ । कांग्रेसको ३० हजार ९९८, एमालेको २७ हजार २९८, जसपाको ६ हजार ९०८, लोसपाको ६ हजार ३८६, माओवादीको ४ हजार ४५९, राप्रपाको २ हजार ३५, एसको ६९१ मत रहेको छ ।

कांग्रेस उम्मेदवार आचार्यलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को दरिलो साथ छ भने गुप्तासंग एमाले मात्र रहेको छ ।

यो निर्वाचन क्षेत्रमा जसपाले उम्मेदवारी दिएको छैन भने लोसपाले पूर्व मन्त्री अकवाल शाह चुनावी मैदानमा हुनुहुन्छ ।

उहाँको पार्टीको उपस्थिति कमजोर भएपनि व्यक्तिगत प्रभावका कारण राम्रै मत ल्याउने मतदाता बताउँछन ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार प्रतिनिधिसभा २ मा १ लाख २१ हजार ६७६ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता ६६ हजार रहेका छन् भने महिला मतदाता ५५ हजार ६७६ रहेका छन् ।

यस क्षेत्रमा ८३ मतदानस्थल र १ सय ५५ मतदान केन्द्र तय गरिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिनुभयो ।

प्रदेश सभा ‘क’ तर्फ सत्तागठबन्धनबाट नेपाली कांग्रेसका विक्रम सिंह थापा चुनावी मैदानमा हुनुहुन्छ । नेपाल प्रहरीका पूर्व एसएसपी समेत रहनुभएका थापा यो क्षेत्रको नयाँ अनुहार हुनुहन्छ । एमालेबाट नवराज लामिछाने उम्मेदवार हुनुहुन्छ । ०७४ को चुनावमा समेत यो प्रदेश सभा जितेको एमालेले लामिछानेलाई उम्मेदवार बनाएको हो । उहाँ पनि नयाँ अनुहार हो । प्रदेश सभा भित्र दुवै जना नयाँ अनुहार प्रतिस्पर्धामा उत्रिए पछि चुनाव रोचक बन्ने अनुमान छ ।

प्रदेश सभा ‘ख’ तर्फ सत्तागठबन्धनले नेपाली कांग्रेसका सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ । संविधान सभाका दुई चुनाव र प्रदेश सभाको एक चुनाव हार्नुभएका पाण्डेय कांग्रेसका पूर्व जिल्ला सभापति समेत हुनुहन्छ । पाण्डेयलाई नेकपा एमालेका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले कडा टक्कर दिनुभएको छ । गत चुनावमा समेत प्रदेश सभा जित्नुभएका श्रीवास्तव लुम्बनी प्रदेशबाट मन्त्री समेत बनेका काम गर्नुभएको छ । यो निर्वाचन क्षेत्रमा पाण्डेय र श्रीवास्तव बीच मात्र चुनावी प्रतिस्पर्धा हुने छैन् । जसपाका अब्दुल रसिद पनि बलिया प्रतिस्पर्धी देखिनुभएको छ । यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

उम्मेदवारहरु विकासका एजेण्डा लिएर घरदैलोमा व्यस्त छन् । जिल्लाको मध्य भागमा पर्ने यो क्षेत्र पूर्वतया कृषिमा आधारित क्षेत्र हो । जिल्लाका अरु दुई निर्वाचन क्षेत्र भन्दा बसाईसराई गरी यहाँ आउनेको संख्या कमै छ । उद्योगधन्दा, कलकारखाना खासै नभएको यो क्षेत्रमा खेतीपाती नै यहाँका मतदाताको प्रमुख काम हो । तर सिंचाई सुविधा नहुँदा बर्षेनी किसान मर्कामा पर्दै आएका छन् । उम्मेदवारहरुसंग सिंचाईको माग गरेको बुद्धभूमि नगरपालिका वडा नं. ९ की लक्ष्मी चौधरीले बताउनुभयो । हरेक निर्वाचनमा सिंचाई माग्दै आएपनि खासै सुनुवाई नभएको उहाँको भनाई छ । यो निर्वाचनमा पनि सिंचाई नै आफूहरुको माग रहेको उहाँ बताउनुहुन्छ ।

घरदैलोमा व्यस्त उम्मेदवारहरुले पनि सिंचाई, लालपूर्जा, नदी कटान नियन्त्रण, पक्की सडक जस्ता चुनावी नारा लिएर घरदैलोमा गइरहेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९ बुधबार ००:००  ८ : ५० बजे