१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

एकीकृत समाजवादीले शुद्धोधन गाउँपालिकामा निर्वाचन परिचालन कमिटी बनायो



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) ले कपिलवस्तुको शुद्धोधन गाउँपालिका स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

मंगलबार लवनीमा बसेको एक भेलाले साजिद अलि संयोजक रहेको डेढ सय सदस्यिय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

कमिटीको सह-संयोजकमा फजले रहमान र श्रीराम धोवी रहेका छन् ।

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन केन्द्रीत एकीकृत समाजवादीले उक्त निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

समाजवादीले कपिलवस्तु १ को प्रदेश सभा ‘ख’ मा फैजल खानलाई उम्मेदवार बनाएको छ । पूर्व राष्ट्रिय क्रिकेटर समेत रहेका खान आसन्न चुनावमा प्रदेश सभामा उम्मेदवारी दिएका छन् ।

०७४ सालमा पनि प्रदेश सभामा उम्मेदवार रहेका खान झिनो मतान्तरले पराजित भएका थिए । आसन्न चुनावमा खान प्रदेश सभाका बलिया दाबेदार देखिएका छन् । युवा नेता समेत रहेका खान विकासप्रेमी नेतामा चिनिन्छन् । चुनावमा पराजित भएपछि रातदिन जनताको सेवामा खटिएका खानले शिक्षा, स्वास्थ्य, सिंचाई र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर घरदैलो गरिरहेका छन् ।

निर्वाचन परिचालन कमिटी गठन कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले प्रतिगमन विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । आसन्न चुनावमा सबै नेता तथा कार्यकर्ता एक भएर नतिजा आफ्नो पक्षमा पार्ने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य मीना परियार, लुम्बिनी प्रदेश कमिटी सदस्य अजिजुर रहमान शेख, जिल्ला पार्टी उपाध्यक्ष गीता अन्जान, सचिव कमल भट्टराई, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य दीपक अनुरागी, जिल्ला सदस्य शिवप्रसाद मुराउ, युवा संघ नेपालका कपिलवस्तु उपाध्यक्ष जीवन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९ बुधबार ००:००  ९ : ३३ बजे