१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

चुनाव जितेपछि सबैको साझा बनेर काम गर्छु : उम्मेदवार घिमिरे



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु १ प्रदेश सभा ‘क’ का सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डोलकराम घिमिरेले चुनाव जिते पछि सबैको साझा भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) बाणगंगा नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेदवार घिमिरेले यस्तो बताएका हुन् ।

‘राष्ट्रिय आवश्यकताले गठबन्धन भएको हो । नेपाली कांग्रेसले आफूलाई नै उम्मेदवार बन्ने मौका दिएको छ । चुनाव जिते पछि कुनै दलको मात्र नभई सबैको साझा भएर काम गर्ने प्रतिवद्धता जनाउँदै उनले बैठकमा भने, ‘यो पटक भोट दिएर जिताउनुहोस् ।’

आफ्नो सिंगो जीवन राजनीतिमा समर्पित भएको भन्दै कसै प्रति राजनीति भेदभाव गर्ने आफ्नो व्यवहार नभएको उनले बताए । उम्मेदवार नहुदै पनि आफू सबैको साझा भएर समाजसेवा गरेको उनले जनाए ।

कपिलवस्तुमा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै आ-आफ्ना पुराना तिक्तता भुलेर साझा उम्मेदवारलाई भोट दिन उनले आग्रह गरे ।

राजनीति प्रति समाजमा यदाकदा वितृष्णा जागेको आफूले देखेको भन्दै राजनीति नै सच्चा समाजसेवा रहेको उनले बताए ।

राजनीतिमा सुधार आवश्यक रहेको भन्दै आफूले चुनाव जितेर संसदमा प्रवेश गरे ०४६ यताका प्रत्येक उच्च पदस्थ कर्मचारी, मन्त्री, सांसदहरुको सम्पत्ति छानविनको आवाज उठाउने उनले बताए ।

बैठकमा एकीकृत समाजवादीका नेताहरुले गठबन्धनका उम्मेदवारलाई कुनै पनि हालमा जिताउने गरी लाग्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९ बुधबार ००:००  ४ : ५६ बजे