७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेकपा एस बाणगंगाले भन्योः संघमा बलदेव, प्रदेश ‘क’ मा घिमिरेलाई भोट दिन्छौं



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) बाणगंगा नगर कमिटीले आसन्न मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी अभियानमा जुट्न आम नेता तथा कार्यकर्तालाई अपील गरेको छ ।

बुधबार चारनम्बरमा भएको बाणगंगा नगर कमिटीको चौथो विस्तारित बैठकले प्रतिनिधिसभा १ मा चक्रपाणी खनाल बलदेव चुनाव चिह्न हसिया हथौंडा र प्रदेश सभा ‘क’ मा डोलराम घिमिरे चुनाव चिह्न रुखमा मतदान गर्न अभियान चलाउने निर्णय गरेको हो ।

पार्टी केन्द्रको निर्देशन र बाम-लोकतान्त्रिक गठबन्धनको सहमति अनुसार दुबै उम्मेदवारलाई जिताउने गरी चुनाव प्रचार प्रसार अभियान थाल्ने निर्णय भएको एकीकृत समाजवादीका बाणगंगा नगर कमिटी अध्यक्ष दिपक पन्थीले जानकारी दिए ।

समानुपातिक तर्फबाट कलम चुनाव चिह्नमा मतदान गर्ने गरी एक हप्ते चुनावी प्रचार अभियान चलाउने निर्णय भएको अध्यक्ष पन्थीले बताए ।

बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले प्रतिगमनको खतरा अझै भएकाले यो निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्नुपर्नेमा जोड दिए ।

जिल्लामा दुई प्रदेश सभामा आफ्ना उम्मेदवार जिताउने गरी लाग्ने र अन्यत्र स्थानमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने गरि पार्टी जिल्लाले निर्णय गरेको उनले बताए ।

कपिलवस्तु १ को प्रदेश सभा ‘ख’ र कपिलवस्तु ३ को प्रदेश सभा ‘क’ मा कलम चुनाव चिह्नका उम्मेदवारलाई भोट दिने र अरु क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी लाग्ने उनले प्रष्ट पारे ।

दुई प्रदेशसभामा बाध्यताबस मित्रवत प्रतिस्पर्धा गर्ने गरी जानु परेको उनले सुनाए ।

अहिलेको राष्ट्रिय आवश्यकता गठबन्धन जिताउने भएको भन्दै अविचलित रुपमा लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई एकीकृत समाजवादीका जिल्ला सचिव कमल भट्टराईले आग्रह गरे ।

उक्त बैठकलाई सम्बोधन गर्दै प्रदेश सभा ‘क’ का सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डोलकराम घिमिरेले चुनाव जिते पछि सबैको साझा भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) बाणगंगा नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेदवार घिमिरेले यस्तो बताएका हुन् ।

‘राष्ट्रिय आवश्यकताले गठबन्धन भएको हो । नेपाली कांग्रेसले आफूलाई नै उम्मेदवार बन्ने मौका दिएको छ । चुनाव जिते पछि कुनै दलको मात्र नभई सबैको साझा भएर काम गर्ने प्रतिवद्धता जनाउँदै उनले बैठकमा भने, ‘यो पटक भोट दिएर जिताउनुहोस्’ ।

आफ्नो सिंगो जीवन राजनीतिमा समर्पित भएको भन्दै कसै प्रति राजनीति भेदभाव गर्ने आफ्नो व्यवहार नभएको उनले बताए । उम्मेदवार नहुदै पनि आफू सबैको साझा भएर राजनीति गरेको उनले जनाए ।

कपिलवस्तुमा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै आ-आफ्ना पुराना तिक्तता भुलेर साझा उम्मेदवारलाई भोट दिन उनले आग्रह गरे ।

राजनीति प्रति समाजमा यदाकदा वितृष्णा जागेको आफूले देखेको भन्दै राजनीति नै सच्चा समाजसेवा रहेको उनले बताए ।
राजनीतिमा सुधार आवश्यक रहेको भन्दै आफूले चुनाव जितेर संसदमा प्रवेश गरे ०४६ यताका प्रत्येक उच्च पदस्थ कर्मचारी, मन्त्री, सांसदहरुको सम्पत्ति छानविनको आवाज उठाउने उनले बताए ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष विष्णु बेल्वासेले गठबन्धन विरुद्ध लाग्ने अधिकार कसैलाई नभएको बताए । देशमा प्रतिगमनको खतरा मडारिरहेको भन्दै यो बेला संयम भएर गठबन्धन जिताउन लाग्नुपर्नेमा उनले जोड दिए । गठबन्धन एकतावद्ध भएकाले अर्को कुनै शक्तिले हराउन नसक्ने उनले बताए ।

उक्त अवसरमा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी विभिन्न नेता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता जेदप्रसाद खनाल, चोपलाल खनाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

यस्तै बाणगंगा ८ का नविन पाण्डेसहित आधा दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश गरेको पार्टीका नगर कमिटी अध्यक्ष पन्थीले जानकारी दिए । यस्तै वडा नं. ४ मा सागर आचार्यको नेतृत्वमा केही कार्यकर्ता समाजवादी प्रवेश गरेको अध्यक्ष पन्थीले बताए ।

पार्टी प्रवेश गराउदै एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खत्रीले कम्युनिष्ट पार्टीको पुनर्गठनमा जोडिएका सबै नेताहरुलाई उचित जिम्मेवारी दिइने बताए ।

बैठकमा नगर कमिटीका सदस्यहरुले आ आफ्नो क्षेत्रको रिर्पोटिङ गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९ बुधबार ००:००  ५ : ३० बजे