१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

केपी ओली मन्त्रीपरिषद्मा ‘खैलाबैला’ मच्याउने बलदेवका ती निर्णय



चन्द्रकान्त न्यौपाने, जितपुर ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई केन्द्रमा राखि यतिखेर उम्मेदवारहरु चुनावी मैदानमा छन् । ३ प्रतिनिधि र ६ प्रदेश सभा सदस्यको लागि कपिलवस्तुमा पनि दिनप्रतिदिन चुनावी माहौल तातिरहेको छ । चुनाव आउन १६ दिन मात्र बाँकि रहँदा चुनावी मैदानमा होमिएका उम्मेदवारले मतदाता रिझाउन अहिले आफूले गर्ने कामको नालीबेली लिएर जनतामाझ गइरहेका छन् भने आफूहरुले गरेका कामको फेहरिस्त मतदातासमक्ष राख्ने, कामको प्रतिवद्धता जनाउने लगायतका काम गरिरहेका छन् ।

यसै सन्दर्भमा ‘हेवीवेट’ को लडाईमा पर्ने अत्यत्नै चर्चित चुनावी क्षेत्र हो क्षेत्र नम्बर एक । यस क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्ध्नबाट साझा उम्मेदवारमा पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल वलदेव छन् भने उनका प्रतिस्पर्धीमा एमालेका केन्द्रिय सदस्य बलराम अधिकारी छन् ।

दुवैले आ–आफ्ना चुनावी वाचा लिएर अहिले घरदैलो गरिरहेका छन् । उनीहरु मसरी मतदाता आफ्नो पक्षमा पार्न सकिन्छ भनेर बिभिन्न उपाय अपनाइरहेको देख्न सकिन्छ ।

२०७४ सालको चुनाव जितेर २० महिना मन्त्री भइसकेका बलदेवले यतिखेर आफूले गरेको कामको स्मरण गराउँदै घरदैलो गरिरहेका छन् । मन्त्री भएर केही गरेन भन्ने विपक्षीको आरोप खेपिरहेका बलदेवले घरदैलोको क्रममा तिनै विपक्षीका भ्रम चिर्न तत्कालिन केपी ओली नेतृत्वको मन्त्रीपरिषद्मा आफूले गर्न खाजेका नीतिगत कुराहरु र ओलीले गरेको हस्तक्षेपको बारेमा दिनप्रतिदिन बताइरहेको देखिन्छ । संचारमाध्यम, आम मतदाता र बुद्धिजिवीहरुमा पनि उनले यी कुराहरु बुझ्न आवश्यक रहेको सुनाउँछन् ।

उनी भन्छन् ‘वलदेवले चुनाव जित्छ जित्दैन सकेण्डरी कुरा हो तर वलदेवले मन्त्री हुँदा नेपालको कृषि र स्वास्थ्य क्षेत्रको रुपान्तरणको लागि के कुरा गर्न खोजेको थियो भन्ने कुरा पहिला बुझ्न जरुरी छ । म अहिले पनि जनतामाझ जाँदा टुक्रे विकासको एजेण्डा होइन मुलुक परिवर्तनको एजेण्डा लिएर जाने गरेको छु ।’

उनी थप्छन् ‘हिजोको मेरा कतिपय नीतिगत निर्णयले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्री परिषद्मा खैलाबैला हुन्थ्यो । केपी जिले त भन्नुहुन्थ्यो वलदेव जि यो कुरा नगर्नुहोस् यसले त मन्त्री परिषद् नै विघटन हुने खतरा भयो ।’

ओली मन्त्रीपरिषद् नै गिराउन सक्ने खालको के त्यस्तो निर्णय थियो भन्ने प्रश्नमा वलदेव भन्छन् ‘विषादी नियन्त्रण, खसीबोकाको आयात रोक्नु र धुलो पाउडर दूधको आयात रोक्ने निर्णयको दस्तावेजिकरण गरी खास नीति बनाउनु । मेरा यी निर्णयले ओली जि तर्सनुहुन्थ्यो । यी निर्णय मेरो लागि थिएनन् । जिल्लाको विकासको लागि थिएन । नेपालको कृषि र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्ने खालका थिए । अब कसले बुझ्ने ? कसरी बुझाउने ?।’

यस्तै निर्णयमा ओलीले आफूलाई हर समय बाधा सिर्जना गरेको र मन्त्रीपरिषद्मा ठाकठुकसमेत परेको उनले सुनाए । यसैबाट सम्बन्ध विग्रिएपछि आफू मन्त्रीपरिषद्बाट हटेको वलदेव बताउँछन् । ती निर्णयले नेपालको हित हुने तर भारतलाई घाटा हुने भएकाले सरकार जान्छ भनेर ओलीले आफूलाई असहयोग गरेको उनले दोहोर्याउँदै प्रष्ट पारे ।

अहिले यिनै निर्णयको बारेमा जनतालाई सकस भएको उनको भनाई छ । ‘पुल बनाएँ बाटो बनाएँ भनेर फेसबुकमा लेखेर देखाएमा जनताले विकास गरेको देख्ने रहेछन् । मैले त्यो झिना मसिना कुरा गरिनँ र गरेका कामको प्रचार पनि गरिनँ । मैले गर्न खोजेको नीतिगत परिवर्तन कसले बुझ्नु ? एमालेजस्तो जिम्मेवार पार्टीले बलदेवले गरेनन् भनेर भ्रम छरिरहेको छ । तर पनि जनताले ढिलो चाँडो बुझ्छन् भन्नेमा म विश्वस्त छु’, उनले भने ।

आफूमन्त्री हुँदा मलको अभाव भएको जस्तो देखिए पनि पहिलेका सरकारले आयात गरे भन्दा धेरै मल ल्याउन आफू सफल भएको उनले दावी गरे ।

अब जनताबाट अनुमोदन भएर ती निर्णयसंगै कपिलवस्तुको मुहार फेरिने तवरले काम गर्ने उनले बताए । कपिलवस्तुको चिनारीको रुपमा रहेको मुलुककै प्रसिद्ध बुद्धस्थल तिलौराकोट, जगदिशपुर जलासय, यहाँको कृषि भूमिमा क्रान्ति हुने गरी काम गर्नेमा ढुक्क रहन उनले सबैमा अनुरोध गरे ।

मन्त्री भएर हिजो केही गल्ती भएको स्विकार गर्दै उनले आगामी दिनमा सच्चिएर जाने बताए । उनले भने ‘जनताले मबाट धेरै आशा गर्नु भएको थियो । गर्न खोदज पनि भनेजस्तो गर्न सकिएन । दुई बर्ष कोरोनामै वित्यो । मन्त्री हुँदा पनि ओलीले गर्न दिएनन् । पार्टीको पनि जिम्मेवार पदमा भएँ । यी यावत कुराले काम गर्न पाइनँ । अब चुनाव जिताउनुहोस् ब्याजसहित गुन तिर्नेछु ।’

तत्कालिन कृषि तथा पशुपंक्षी बिकास मन्त्री हुँदा वलदेवले कपिलवस्तुको लागि गरेका कामहरु हेर्नुहोस् ?
बलदेवले कपिलबस्तुमा ३ अर्ब ६४ करोड २२ लाख बजेट भित्र्याएका थिए । कृषि उपज तथा कृषि पूर्वाधार बिकासमा पुर्वमन्त्री बलदेवले मुख्य रुपमा यी कार्यहरु सम्पन्न गरे ।

१ः कृषकले उत्पादन गर्ने कृषि उपजको प्रभावकारी ब्यबस्थापनको लागि बाणगंगा नगरपालिका वडा नम्बर ३ र ११ सिमाना हथौसामा शीतभण्डार सहितको कृषि उपज बजार पूर्वाधार निर्माणको लागी उनले संघीय सरकारको तर्फबाट ५२ करोड लगानी

२ः सिंचाइ सुविधा नपुगेका किसानलाई लक्षित गरेर कपिलवस्तुमा पहिलो पटक डिप ट्युबवेल (बोरिङ्ग) जडान कार्यक्रमको शुरुवात

३ः कपिलबस्तुको शुद्धोधन गाउँपालिका–४ बिठुवामा कृषि यान्त्रिकरण प्रवद्र्धन परियोजना अन्तर्गत सिंचाई सुविधाको लागि कुल ७५ लाख लागतमा पहिलो डिप ट्युबवेल र क्षेत्र १ मा १८ वटा डिपबोरिङ्ग, २ हजार डिप ट्युवेल जडान ।

३ः मधेसमा छात्राहरुका लागी सुविधा होस् भन्नका लागी कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मा कन्या कलेजको स्थापना

४ः करिव १ बिगाहा ४ कट्ठा जग्गामा छात्रा भवन निर्माण गरि छुट्टै छात्रा सेक्सन सञ्चालन गरिएको छ । संचालित कन्या क्याम्पसका लागि संसद बिकास कोषबाट ५० लाख रुपैयाँ विनियोजन

५ः कपिलवस्तुका बहुवर्र्षीय योजनाका सडकको निर्माण । संसदीय बिकास कोष मार्फत सडक पूर्वाधारतर्फ बर्रोहिया–जयनगरा सडकको निर्माण तथा स्तरोन्नति ।

६ः शुद्धोधन गाउँपालिका– ६, सन्तघाट बेलभरिया, मोतीपुर पुल, मायादेवी गाउँपालिका ३, फुलिका पुल, मुगहरि पुल लगायतका पूर्वाधार निर्माणमा लगानी गरि कार्यान्वयन

७ः बलदेवको ५ बर्षे कार्यकालमा कृषि, सिंचाई, शिक्षा, पूर्वाधार बिकासमा उल्लेख्य कार्यहरुको साथमा कृषि उत्पादन प्रवद्र्धन, खसिबोका आयातमा नियन्त्रण, धुलोदुुध आयातमा नियन्त्रण, बिषादी नियन्त्रण अभियानको दस्तावेजीकरण

प्रकाशित मिति : १७ कार्तिक २०७९ बिहिबार ००:००  १० : ३९ बजे