१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बहालवाला मन्त्रीसहित ६ पूर्वमन्त्री चुनावी मैदानमा



भुपाल थापा, कपिलवस्तु ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कपिलबस्तुका तीनवटै निर्वाचन क्षेत्रमा बिरासत जोगाउने कसरतमा उम्मेद्वार कस्सिएका छन् ।

यहाँ मुख्यतः बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार र नेकपा एमालेका उम्मेद्वारबीचमै प्रतिस्पर्धा हुने देखिएको छ ।

यद्यपि कपिलवस्तुमा मधेशवादी दलहरुको समेत राम्रो प्रभाव भने देखिन्छ ।

यहाँको रोचक के छ ? भने, आम निर्वाचन २०७९ मा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा एक जना बहालवाला मन्त्री सहित ६ जना पूर्वमन्त्री चुनावी मैदानमा छन् । कपिलवस्तुको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका केन्द्रिय सदस्य एवं कपिलबस्तु इन्चार्ज बलराम अधिकारी चुनावी मैदानमा छन् ।

२०७० सालदेखिका सहयात्रीहरु हाल आएर आमने–सामने भएका हुन् । अधिकारी २०७० मा संविधानसभा सदस्य भएका थिए । खनालले २०७४ सालको निर्वाचनमा कांग्रेस नेता दीपकुमार उपाध्यायलाई पराजित गरेका थिए । अघिल्लो चुनावमा प्रतिस्पर्धी रहेका खनाल र उपाध्याय यो चुनावमा भने सहयोगी बनेर एमालेसँग लड्नुपर्ने अवस्थामा छन् ।

२०७४ असोज ३१ गते गठित केपी शर्मा ओली नेतृत्वमा बाम गठबन्धनको बहुमत सरकारको संघीय कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्रीमा कपिलबस्तु–१ का उम्मेद्वार ‘बलदेव’ चयन भएका थिए । कृषिमन्त्रीत्व समयलाई जिल्लाको बिकासमा सक्रिय सहभागिता जनाएका उनै बलदेवले अहिले निर्वाचन सहजै जित्ने बिश्वास ब्यक्त गर्छन् ।

यस्तै कपिलबस्तु–१ (ख) का सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट सहसराम यादवको उम्मेद्वारी छ । प्रदेशसभा सदस्यका उम्मेद्वार यादव हाल बहालवाला भौतिक पूर्वाधार तथा सहकारी मन्त्री हुन् । लुम्बिनी प्रदेश सरकारको कुलप्रसाद केसी मुख्यमन्त्रीत्व कालमा यादव जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट मन्त्री बनेका थिए । आमनिर्वाचन २०७९ मा यादव जसपा परित्याग गर्दै सत्ता गठबन्धनमा प्रवेश गरी रुख चुनाव चिन्ह लिई चुनावी मैदानमा छन् ।

कपिलवस्तु–२ मा सत्ता गठबन्धनबाट कांग्रेसका सुरेन्द्रराज आचार्य र नेकपा एमालेबाट बृजेशकुमार गुप्ता प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा पराजय भोगेका आचार्य यसपटक सत्ता गठबन्धनको सहयोगका कारण बलिया उम्मेदवार मानिन्छन् । यहाँ मुलतः तीनजना पूर्वमन्त्रीहरु आचार्य, गुप्तासंगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अकवल अहमद शाह पनि उम्मेदवार छन् । आचार्य पूर्वसिचाइँ राज्यमन्त्री, गुप्ता पूर्वकानुन तथा न्यायमन्त्री र शाह पूर्व कृषि तथा सहकारी मन्त्री हुन् ।

०७० सालको निर्वाचनमा संबिधान सभा सदस्यमा निर्वाचित आचार्य सिँचाइ राज्यमन्त्री भएका थिए । ०७३ श्रावण २० मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को मन्त्रीमण्डलमा आचार्य सिंचाई राज्यमन्त्री भएका थिए ।

०७४ सालमा स्वतन्त्र भन्दै सूर्य चिह्नबाट लडेका वृजेश गुप्ता अहिले एमालेबाट उम्मेदवार बनेका छन् । २०५६ सालमा राप्रपाबाट राजनीति शुरु गरेका गुप्ता चारपटक सांसद निर्वाचित भइसकेका छन् । २०६४ र २०७० का दुई संविधानसभा निर्वाचन गुप्ताले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट जिते । एमालेका साथमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट २०७४ सालमा पनि गुप्ता निर्वाचित भएका थिए । हरेक पटकको निर्वाचनमा पार्टी फेर्दै चुनाव लड्दै आएका पूर्वमन्त्री गुप्ता योपटक एमालेबाट यही क्षेत्रमा उम्मेदवार छन् ।

यस्तै पुराना कम्युनिस्ट नेताको रूपमा परिचय बनाएका अकवल अहमद शाह लोकतान्त्रिक समाजवादी पार्टीबाट कपिलबस्तु–२ प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । शाह कृषि तथा सहकारीमन्त्री समेत भइसकेका व्यक्ति हुन् । नेपाल कम्युनिष्ट पार्टी (मानन्धर समुह) हुँदै, एमाले, राप्रपा, तमलोपा हुँदै हाल लोसपाबाट उम्मेदवार बनेका शाह पनि कडा प्रतिस्पर्धामा रहेका छन् ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कृषि तथा सहकारीमन्त्री बनेर छोटो कार्यकाल (२५ दिन) पुरा गरेका शाह गत निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।

यस्तै, कपिलबस्तु–२ (ख) मा प्रदेशसभा सदस्यमा एमालेका धर्मबहादुर लाल श्रीवास्तवको उम्मेद्वारी छ । उनी लुम्बिनी प्रदेशमा शंकर पोख्रेलको सरकारमा तेस्रो मन्त्रिपरिषद् बिस्तारमा श्रीवास्तव मन्त्री बनेका थिए । नेकपा बिभाजनपछि माओवादीले समर्थन फिर्ता लिएपछि पुर्नगठित मन्त्रीमण्डलमा उनी शिक्षा तथा सामाजिक बिकास मन्त्री भएका थिए । मधेसवादी दलमा आवद्ध रहेर राजनीति सुरु गरेका श्रीवास्तव ०७४ सालमा बृजेश गुप्तासँगै सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए ।

कपिलबस्तु–३ मा ईश्वर दयाल मिश्र पनि प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका छन् । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रीमण्डलमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका मिश्रले आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो जीत निश्चित भएको दाबी गर्दछन् । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालका महासचिव समेत रहेका मिश्रले आफु राज्यमन्त्री हुँदा जिल्लाको बिकासमा राम्रो काम गरेको दाबी सहित निर्वाचनमा होमिएका छन् ।

दल अदलबदल गर्दै राजनीतिमा टिकेका कपिलबस्तुका आंशिक उम्मेद्वारले आफ्नो साख जोगाउन सक्लान् ? नसक्लान् त्यस्को लागी ४ मंसिर कुर्नुपर्ने छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९ शुक्रबार ००:००  ८ : १४ बजे