२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

चुनाव जित्नेमा डोलकराम ढुक्क, मतदाताले उस्तै मन पराए



मायादेवी अनलाइन, जितपुर । शरीर र अनुहारमा सदैव स्फुर्ति, छिटोछिटो हिँड्ने । सबैसंग मुस्कुराएर मिठो बोल्ने । दायित्व लिए मात्र होइन, नलिए पनि परि आउँछ भनेझैँ जनताका दुखदुख, जन्म, मरण, विवाह ब्रतबन्धमा सारिक भइहाल्ने मुख्य विशेषता हो, डोलकराम घिमिरेको ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ निवासी उमेरले ५० बर्ष नाघेका उनै घिमिरे वाम-लोकतान्त्रिक गठबन्धनबाट आगामी मंसिर ४ गतेको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा प्रदेश सभा सदस्य उम्मेवार छन् ।

निर्वाचन आयोगको आचारसंहिताले बाँधेको अवधि (कार्तिक १७ गते) सम्म उनले आफ्नो क्षेत्रमा घरदैलो तीव्र बनाएका घिमिरेले सकेसम्म जनताका समस्या बुझ्ने प्रयास पनि गरिरहेका छन् भने चुनाव जितेर के गर्ने भन्ने कुराको वाचा पनि गरिरहेका छन् ।

उनी देख्दा जति साधारण देखिन्छन् अहिलेसम्म उनको प्रचारशैली पनि सामान्य नै खालको छ । ठुला–ठुला भेला र समूहभन्दा पनि घिमिरे उनकै क्षेत्रका प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री चक्रपाणी खनाल बलदेवसंग ‘डोर टु डोर’ मतदाताको आँगन र खेतबारीमा पुग्ने गरेका छन् ।

यो क्रम भइरहँदा मत दिने मतदाताले पनि घिमिरे र खनाललाई जान्ने र बुझ्ने मौका पाइरहेका छन् । डोलकरामजस्तै उनका प्रतिस्पर्धी एमालेका नेता विष्णु पन्थी पनि उस्तै गरी घरदैलो गरिरहेका छन् । पन्थीलाई मतदातामाझ परिचित हुन जति सजिलो भएको छ घिमिरेलाई भने सजिलो छैन । त्यसैले पनि घिमिरेले गठबन्धनका सहयात्रीहरुसंग धेरैभन्दा धेरै मतदाताको घरमा पुग्ने क्रमलाई निरन्तरता दिएका हुन् ।

चुनाव प्रचारको क्रममा डोलकराम जहाँ जहाँ पुग्छन् उनको प्रसंसामा भने कमी आएको देखिदैन । घिमिरे पुगेका अधिकांश ठाउँका मतदाताबाट आउने एउटै स्वर हो- ‘हामीलाई सरल, सहयोगी र निस्कलंक छवि भएको नेता चाहिएको छ ।’

वाणगंगा नगरपालिका वडा नम्बर ८ का वृद्ध पुरुष मतदाता भन्छन् ‘घिमिरे बाबु हामीले खोजेजस्तै रहेछन् । उनको बारेमा नराम्रो सुनिएको छैन । यसपटक भोट उनैलाई दिने हो ।’

ती वृद्ध पुरुष जस्तै वाणगंगा नगरपालिकाको पूर्वमा पर्ने वडा नम्बर २ पिपरा स्थायी घर भएकी पार्वती घिमिरे पनि यसपटक घिमिरेलाई मत दिनेमा अडिग छिन् । आफू फरक पार्टीको भए पनि घिमिरेको व्यक्तित्व र सहयोगी चरित्रबाट प्रभावित भएको उनले सुनाइन् । उनी भन्छिन् ‘छिमेकीका समस्याको बारेमा घिमिरे वारम्बार प्रहरी चौकी धाएको, मर्दा, पर्दा होओस् अथवा अरु सुखदुख जे पर्दा पनि हात थाप्न सारिक भएको कुराले उहाँले हाम्रो मन जित्नु भएको छ । यस्ता ब्यक्तिले धेरै गर्न नसके पनि नराम्रो नगर्लान् भन्ने सोँचेर घिमिरेलाई भोट दिने निर्णय गरेका छौँ ।’

केही मतदाता मात्र होइन आफू पुगेका हरेक क्षेत्रका मतदाताले यस्तै गरी हौसला दिने काम गरेको घिमिरेले बताए । ‘मलाई चुनाव हार्छु भन्ने नै लाग्दैन । त्यही माथि मतदाताको यति राम्रो पृष्ठपोषण पाएको छु । आशा छ सबै मिलेर जिताउनु हुन्छ ।
काँग्रेसको बाहुल्यता रहेका बिभिन्न पालिकाका वडामा वाम लोकतान्त्रिक घटकका माओवादी, समाजवादी, राष्ट्रिय जनमोर्चाको पनि साथ पाउँदा धेरै खुसी भएको छु’, घिमिरे सुनाउँछन् ।

आफ्ना ३० वडामा घरदैलो सक्न लागेका घिमिरे यसपछि ठुला ठुला भेला र सभासमारोहमा भाग लिएर चुनावी वाचा गर्ने बताउँछन् । आफूले पनि भ्रष्टाचार नगर्ने र सदनमा पुगेर पनि जोडतोडका साथ भ्रष्टाचारको मुद्धा उठाउने सन्देश लिएर चुनावी मैदानमा होमिएको उनी बताउँछन् ।

घिमिरेको विश्वास छ भ्रष्टाचार अन्त्य भयो भने मात्र विकासले गति लिन्छ । मतदाता मात्र होइन यस क्षेत्रका बुद्धिजिवी, शिक्षक, व्यापारी व्यवसायी पनि घिमिरेको साधारण जीवनशैलीबाट प्रभावित भएको बताउँछन् । उनीहरु भन्छन् ‘घिमिरेले चुनाव जिते उनको व्यक्त्विकै कारण जित्छन् । दागरहित छवि, सरल र सहयोगी व्यक्तित्व उहाँको मुख्य विशेषता हो ।’ गठबन्धनका नेता कार्यकर्ता पनि यही कुरामा विशवास गर्दछन् ।

घिमिरेको सादगीपन देखेर कतिपयले उनलाई काँग्रेसका सन्त नेता स्वर्गीय कृष्ण प्रसाद भट्टराईसंग तुलना गर्ने गरेको सुनिन्छ । सामाजिक संजालमा पनि घिमिरेका शुभचन्तकहरुले सन्त नेता घिमिरे भनी प्रचार सामग्री पोष्ट गरिरहेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९ शुक्रबार ००:००  ९ : ५५ बजे