१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकियो



काठमाण्डौ ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । चुनावका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्रको छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो।

आयोगले केन्द्रलाई यही कात्तिक २० गतेसम्मको समयसीमा दिएकोमा दुई दिन अगावै मतपत्र छपाइको काम सकिएको हो । आज शुक्रवार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको अवलोकन गर्नुभएको थियो ।

उहाँले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ सकिएको र नमुना मतपत्र २२ लाख गरी झन्डै ८ करोड २५ लाख मतपत्र छापिएको बताउनु भयो । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको जानकारी दिनुभयो । अब प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने उहाँले बताउनुभयो । उहाँले मतपत्र छाप्ने काम चुनौतीपूर्ण रहे पनि सबैको सहयोगमा समयभन्दा अगाडि नै सकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै पक्षबाट मतपत्र छपाइको काम चुनौतीपूर्ण हो । तर आयोगले र आयोगसँग सम्बद्ध मतपत्र छपाइको क्रममा सँगै बसेर काम गर्नुहुने सबै साथीहरुले यसलाई अवसरको रुपमा लिनुभएको छ । २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने भन्ने थियो, तर तालिकाभन्दा दुई दिन अगावै मतपत्र छपाइको काम सकियो । अब ढुवानी छिट्टै हुन्छ । छोटो समयमा यति धेरै मतपत्र छापिनु, गम्भीर कुरा नै हो । तर सहज रुपमा मतपत्र छापिएको छ’ उहाँले भन्नुभयो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र छापिसकिएको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार चुनावमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जसअनुसार आउँदो चुनावका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९ शुक्रबार ००:००  १२ : ३८ बजे