२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

भारी अन्तरले चुनाव जित्दैछौँ : मन्त्री चौधरी



दाङ ।

दाङ क्षेत्र नम्बर १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने दाबी गरेका छन् । देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेस गर्दै भने, ‘गठबन्धनले प्रगतिशील एजेन्डा बोकेको छ । जनताले ठूलो त्याग र बलिदानी गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो सर्त हो ।

नयाँ संविधानमार्फत प्राप्त भएको संघीय गणतन्त्र, समावेशी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ ।’ मन्त्री चौधरीले संविधानको रक्षा र यसको कार्यान्वयन मार्फत विकास निर्माणको अगुवाइ गर्ने आफूहरूको प्रतिबद्धता रहेको बताउँदै जनताको चाहना पनि त्यही रहेको जिकिर गरे ।

‘त्यसमाथि पाँच दल एक ढिक्का भएका छौँ । उता प्रतिगामी गठबन्धनको अगुवाइ एमालेले गरेको छ । यिनै कारणले गर्दा हाम्रो गठबन्धनले भारी अन्तरले चुनाव जित्दैछ,’ उनले भने । जनताले संविधान विरोधी तत्त्वलाई राम्रोसँग चिनिसकेको बताउँदै मन्त्री चौधरीले गठबन्धनलाई जनताले जिताउने निश्चित रहेकाले पाँचवटै राजनीतिक दल पनि विकास र सम्बृद्धिका लागि जवाफदेही हुनुपर्ने बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९ शनिबार ००:००  १ : १२ बजे