२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

फेरि मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया



झापा ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा फेरि मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरी चुनाव सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा आज आइतवार झापाको बिर्तामोडमा निर्वाचन आयोग र नेपाल कानुन समाजले आयोजना गरेको ुनिर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिकाु विषयक कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने बताउनुभयो । उहाँले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्त्व वा व्यक्तिलाई नियमसङ्गत कारबाही गरिने बताउनुभयो ।

कुनै पनि मतदाताले आफूलाई लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट अफ्ठ्यारो स्थिति सृजना गरियो भन्ने गुनासो आउने वातावरण नै नहुने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको उहाँको भनाइ थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिता र चुनाव खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र चुनाव गराइने बताउँदै उहाँले सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणाष्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागिपरेको बताउनुभयो ।

प्रकाशित मिति : २० कार्तिक २०७९ आइतबार ००:००  २ : १८ बजे