६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

लेखा शाखालाई एकाएक चमत्कारीक रुपमा परिवर्तन गराएका ज्ञवाली



मायादेवी अनलाइन, बुद्धभूमि ।
अधिकांश सर्वसाधारणले निकै झन्झटिलो मान्ने सरकारी कार्यालयको लेखा शाखामा चमत्कारिक रुपमा परिर्वतन गराएका लेखा प्रमुख हुन रेनुराम ज्ञवाली ।

कपिलवस्तु बुद्धभूमि नगरपालिकाको लेखा शाखा प्रमुख रहेका ज्ञवालीले एक हातले भुक्तानी पत्र बुझ्ने, अर्को हातले चेक वितरण गर्ने गरेका छन् ।

शाखामा फाइल पुगेको ५ मिनेटमै काम सकाएर भुक्तानी दिई सर्वसाधारणको मन जित्न ज्ञवाली सफल भएका हुन् ।

कानुतः भुक्तानी बील लेखा शाखामा पुगेको एक हप्ता भित्र सम्बन्धित निकाय वा व्यक्तिलाई फाइल हेरेर रकम निकास गर्नुपर्छ । तर झन्झटिलो लेखा प्रणालीको कारण एकै दिनमा चेक दिने विरलै सरकारी निकाय छन् । अझ स्थानीय तहमा यो काम ‘दुरदुर’ छ । तर, बुद्धभूमिका लेखा प्रमुख ज्ञवालीले एकै छिनमा भुक्तानी दिने गरेका छन् ।

भुक्तानीका लागि आउने फाइलमा कमिकमजोरी भए तत्काल सच्चाउन भन्ने गरेका छन् ।

‘विभिन्न शाखा हुँदै आएका भुक्तानीका फाइल लेखा शाखामा आएको केही बेरमा सर्वसाधारणलाई सेवा दिदै आएका छौं’, लेखा प्रमुख ज्ञवालीले भने ।

बुद्धभूमि नगरपालिकाको लेखा शाखाले गरेको कामले आम उपभोक्ता दंग छन् । नगरपालिकाबाट गर्ने अधिकांश योजनाका काममा भुक्तानीका लागि हप्तौ धाउनुपर्ने समस्या हल भएको बुद्धभूमि ९ का केशवराज सुनारले बताए ।

‘निस्वार्थ रुपमा विकास योजना सकाउने उपभोक्ता समितिले भुक्तानीका लागि हप्तौ नगरपालिका धाउदा झन्झट मान्ने गरेका थिए । अब त्यो स्थिति छैन् । नगरपालिकाले सेवा प्रवाहमा चमत्कारी रुपमा फड्को मारेको छ’, सुनारले भने ।

‘सरकारी काम कहिले जाला घाम’ ! भन्ने उखान पुरानै हो । व्यवस्था फेरिए पनि कर्मचारीको काम गर्ने शैली नफेरिएको आम नागरिकको गुनासो रहदै आएको छ । झन्झटिलो सरकारी कामले आम नागरिक निरास भइरहेका बेला बुद्धभूमिको लेखा शाखाले दिन थालेको सेवाले यहाँका उपभोक्ता खुसी देखिन्छन् ।

लेखा शाखाको कामले नगर प्रमुख केशव कुमार श्रेष्ठ पनि सन्तुष्ट छन् ।

‘दोस्रो कार्यकालको लागि नगरबासीले नगर प्रमुखमा निर्वाचित गराएका छन् । धेरै कुराको सहजताका लागि दत्तचित्त भएर लागेको छु । लेखा शाखा मात्र होइन अन्य शाखाको काम पनि उत्तिकै राम्रो छ । अझ लेखा शाखाको कामले म धेरै सन्तुष्ट छु, उनले भने’, ‘जनताले सेवा प्रवाहमा सहजता ल्याउनु नै अहिलेको प्रमुख काम हो ।’

बुद्धभूमिमा प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम छन् । गौतम पनि जनताको सेवाका लागि दत्तचित्त भएर लाग्ने गरेका छन् । अधिकांश समय उनी कार्यालयमै भेटिन्छन् । धेरै जसो कार्यालय प्रमुखहरु कार्यालयमा नभेटिए पनि गौतम आफ्नो कार्यकक्षमै रहेका हुन्छन् ।

स्थानीय तहलाई स्थानीय सरकारका रुपमा हेरिएको छ । जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय तहले जनताको सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्नै पर्ने कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई बताउँछन् ।

झन्झटिलो सरकारी काममा अब सहजता ल्याउनुपर्ने उनले जोड दिए । सरकारी कार्यालयले प्रविधिको उच्चतम प्रयोग गरे जनताको दैनिन समस्या तत्काल समाधान गर्न सकिने उनको धारणा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९ सोमबार ००:००  ९ : २५ बजे