१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

राष्ट्रिय गौरवका योजनासहितको विकास गर्ने उम्मेद्वार बलदेवको घोषणा



मायादेवी अनलाइन, बाणगंगा ।
आगामी मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभा तर्फ सत्ता गठबन्धनबाट कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल ‘बलदेव’ले गठबन्धनको सरकार ग्रामीण विकासमा केन्द्रित हुने बताएका छन् ।

राष्ट्रिय गौरवका योजना आफूहरुसंग भएको भन्दै अबको दृष्टि त्यता तिर रहने उनले बताए ।

बाणगंगा नगरपालिका वडा न. १ को घरदैलो कार्यक्रम पछिको कोणसभालाई सम्बोधन गर्दै बलदेवले यसअघिको सरकारले आंशिक रुपमा मात्रै काम गरेको र आगामी गठन हुने गठबन्धनको ५ बर्षे सरकारले गाउँगाउँमा विकास गर्ने बताएका हुन् ।

उनले शिक्षा, स्वास्थ्य, सडक र कृषिका अधुरा योजना पुरा गर्ने र आधुनिक प्रणालीको विकासमा जोड दिने बताए ।

आगामी चुनावमा देशभर गठबन्धनको जित भएर प्रतिगामी र परिवर्तन विरोधी शक्ति पाखा लाग्ने भन्दै उनले त्यसपछि मात्र गाउँ ठाउँको विकास हुने दावी गरे ।

यसअघिको चुनावमा आफूले यस क्षेत्रबाट जित हासिल गरे पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण यहाँको विकास गर्न नसकिएको बताए ।

जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि अहिले गठबन्धनले जित्नै पर्ने बलदेवको दावी छ । उनले भने, ‘मैले कपिलवस्तुको विकास र समृद्धिका लागि धेरै योजनासंगै बजेटको पनि व्यवस्थापन गरे तर त्यसको प्रचारप्रसार गर्न जानिन्, जसको फलस्वरुप मैले यहाँका कतिपय नागरिकबाट आरोपहरु खेप्नु परेको छ ।’

उनले जनताको अपेक्षा अनुसार काम गर्न आफू प्रतिवद्ध रहेको बताए । विकासको सम्भावनाले भरिएको कपिलवस्तुलाई अब तीब्र गति विकासको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । देश र जनताको आवश्यकता गठबन्धन भएको दाबी गर्दै उनले अबको सरकार पनि गठबन्धनकै बन्ने जिकिर गरे ।

‘अहिले देश र जनताको आवश्यकता गठबन्धन हो, उनले भने, ‘गठबन्धनले नै चुनाव जित्छ र गठबन्धनको सरकार बन्छ ।’

प्रकाशित मिति : २२ कार्तिक २०७९ मंगलबार ००:००  ७ : ५१ बजे