१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

विष्णु पन्थीले डोलकराम घिमिरेलाई ‘माननीय’ भनेपछि..



चन्द्रकान्त न्यौपाने, जितपुर ।

नेपालका ठुला राजनैतिक दलहरु ( एमाले, काँग्रेस, माओवादी, जसपा, राप्रपा लगायत) का शीर्ष नेताहरु एकले अर्कालाई गाली नगरेसम्म खाएको खाना पचाउँदैनन् । अझै चुनाव आउँदा त उनीहरु एकले अर्कालाई यतिसम्म गाली गलौजमा उत्रन्छन् कि भन्नेलाई भन्दा सुन्नेलाई लाज भनेझैँ जनता नै लज्जित हुनुपर्ने स्थिति आउँछ । उनीहरुको भाषणको शब्द छनौट र आरोप त्यति गिर्दो देखिन्छ ।

नेपालमा गणतन्त्र घोषणा भएपछिको चौथो आम निर्वाचन मिति मंसिर ४ गतेको लागि तोकिएको छ । एकैपटक प्रतिनिधि र प्रदेश सभाको चुनाव ४ गते हुँदै छ ।

यो मिति नजिँकिँदै गर्दा फेरि ती शीर्ष नेताहरु भाषणमा नाङगिन थालेको देखिन्छ । जनताको माझमा आफुलाई राम्रो देखाउन र प्रतिस्पर्धीलाई नङ्ग्याउन केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, उपेन्द्र यादवले मुखमा आएजतिको भनिरहेको देखिन्छ ।

पटकपटक प्रधानमन्त्री भएका एमालेका अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), एकपटक प्रधानमन्त्री भएका एकिकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र डाक्टर भट्टराईको भाषण सुन्ने हो भने उदेकलाग्दो छ । यीमध्ये पनि ओली, दाहाल र नेपाल एकअर्काको खेदो नखनेसम्म एक मिनेट पनि भाषण गर्न सक्दैनन् । यो गाली गर्ने सूचीमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा भने पर्दैनन् । आफूमाथि आएको आरोपको उनी ठाडो र कुटनैतिक जवाफ दिन्छन् तर तुच्छ गालीमा उत्रन्नन् ।

केन्द्रको यस्तो घिनलाग्दो राजनीतिकाबीच जिल्लाइतरका केही नेताले भने एकले अर्काको अस्तित्व स्विकारेको देखिन्छ । आसन्न चुनावको मुखमा पनि उनीहरुले उच्च राजनैतिक संस्कार र राजनैतिक सहिष्णुता देखाएका छन् । यो संस्कार देखाउने उच्च पङ्तिमा आउँछन् कपिलवस्तुका दुई नेता, विष्णु पन्थी (एमाले) र डोलकराम घिमिरे (काँग्रेस) ।

एक अर्काका अनन्य साथीभाइको सम्बन्धमा रहेका यी दुई नेता संयोगले मंसिर ४ गतेको निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्य पदको उम्मेदवारको रुपमा एक अर्काको प्रतिस्पर्धी छन् । यो बेला पनि दुवै नेता एकले अर्कालाई तथानाम गाली गलौज गर्ने र आरोप प्रत्यारोप गर्ने शिलशिला देखिएका छैनन् । टिकट पाएर चुनावी प्रचारमा हिँड्न थालेको धेरै दिन भइसक्यो तर उनीहरुले एकले अर्कोलाई कहिँ पनि गाली गरेको देखिन्न ।

त्यो संस्कारको नमुना दुवै नेताले मंगलबार पनि देखाए । कार्तिक २२ गते विहान यी दुई नेताको वाणगंगा १ वैरियाको ढुंगाना चोकमा जम्काभेट भयो । त्यहाँ केही पत्रकार, बुद्धिजिवी, राजनैतिक दलका नेता, स्थानीय मतदाता पनि थिए । आफ्नो घरदैलोको लागि पन्थी वडा नम्बर ९ भलवाड हिँडेका रहेछन् ।

घिमिरे भने आफ्नै वडाको घरदैलोको लागि चोकमा आएका रहेछन् । डोलकराम घिमिरे केहीसमय अघि नै आएर त्यहाँ भलाकुसारी गरिरहेका थिए । त्यहीक्रममा विष्णु पन्थी पनि टुप्लुक्क त्यही स्थानमा आएर घिमिरेसंग हात मिलाउँदै टुसुक्क कुर्सिमा बसे । घिमिरे पनि उत्साहित हुँदै पन्थीको मुखमा हेरेर मुसुमुसु हाँसिरहे । घिमिरेले दौरा सुरुवाल र मोदी कोट लगाएका थिए भने पन्थी सर्ट, पाइन्ट र कोटमा ठाँट्टिएका थिए ।

एक अर्काका प्रतिस्पर्धीलाई एकै स्थानमा देखेपछि त्यहाँ भएका अरु दर्शक पनि हाँसे । पत्रकारले हत्तपत्त एकै स्थानमा रहेको फोटो खिच्न तम्सिए । अरु सबैले पनि निकै खुसी मानिरहेका थिए । त्यसपछि भने दुवैको संवाद सुरु हुन थाल्यो ।

हेलो हाएपछि पन्थीले भने ‘चुनावी प्रचार कहाँ पुग्यो ? कति वडाको घरदैलो सक्नु भयो ‘माननीय’ ज्यू ?’ पन्थीबाट माननीय शब्द निस्किएपछि त्यहाँ भएका अरु सबै मुसुमुसु हाँसे । घिमिरे पनि मुसुक्क हाँस्दै घरदैलोको विवरण सुनाए । त्यसपछि घिमिरेले भने ‘तपाईले सक्नु भयो ? म त हजुरकै आड भरोसामा छु । तपाईलाई त मतदाता चिन्न सजिलै भएको होला मैले त विष्णु जिको साथी हुँ भोट दिनुहोला भनिरहेको छु ।’

त्यही क्रममा घिमिरेले हाँस्दै थपे ‘हजुरको आर्शिवाद लागिरहोस् । जसले जिते पनि यस क्षेत्रका जनताको जित हुने छ । मैले त मेरा साथीहरुलाई भनिरहेको छु । विष्णु पन्थी अनि एमालेलाई गाली नगर्नू । ओलीको कारण एमाले नराम्रो भएको हो । एक अर्कालाई गाली गर्नु हुँदैन । निर्वाचनमा जति ठाउँमा पुगे पनि मैले कसैलाई गाली गलौज गरेको छैन ।’

डोलकका कुरा सुनेका पन्थीले पनि गाली र आरोप प्रत्योरोप जरुरी नरहेको सुनाए । जसले जिते पनि यहाँका विकास गर्नुपर्ने ‘मसाय’ उनले सुनाए । लगत्तै पन्थीका साथीहरुको एकदुईवटा फोन आयो । फोनमा पनि पन्थीले भने म त ‘माननीय डोलकराम संग वैरियामा छु’ । त्यो सुन्दा सबै पुनः हाँसिरहेका थिए । आफ्नो गाडी चोक कटेर अगाडी गए पनि डोलकरामलाई देखेपछि फरक्क फर्किएको पन्थीको साथमा रहेका लक्ष्मण पन्थीले बताए ।

दुई नेताको यो गतिविधि नियालीरहेका अरुले पनि उनीहरुको प्रसंसा गरे । सबैले यसखाले राजनैतिक संस्कारको अभाव मुलुकमा रहेको सुनाए । एकैछिनपछि ढुंगाना चोक खाली भयो । सबै आआफ्नो बाटो लागे ।

पन्थी दोश्रोपट चुनाव जित्ने दाउमा छन् भने कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरे पहिलोपटक चुनाव जितेर माननीय बनी रच्ने योजनामा छन् । चुनावमा मात्र नभएर अरु बेला पनि यी दुई जना मित्र हुन् । दुवै यस क्षेत्रका सरल नेतामा पर्दछन् । दुवै नेता यस क्षेत्रमा जनताले रुचाएका नेता हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९ बुधबार ००:००  ४ : २७ बजे