१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

बलदेवप्रतिको क्रेज बढ्दो, जनता भन्छन् ‘अब कसैले रोक्न सक्दैन’



चन्द्रकान्त न्यौपाने, जितपुर ।

प्रतिनिधि सभा सदस्य पदमा कपिलवस्तुको क्षेत्र नम्बर ‘१’ मा वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवसंग निरहु यादवको जब भेट भयो तब उनले एक्कासी बलदेवलाई अंकमाल गरे । अनि, आफ्ना कुरा सुनाए । सुरुमा उनले माओवादीकै कारण अहिलेको परिवर्तन आएको बताए । त्यसपछि बलदेव मन्त्री भएर गरेको कामको बेलिविस्तार सुनाए । बलदेवले गरेको कामबाट आफूहरुले सिंचाइ सुविधा पाएको, छोरीबेटीले पढ्ने कन्या क्याम्पस पाएको लगायतका कुराहरु यादवले बताए ।

नेपाली र अवधि भाषामा उनले बलदेवको निकै प्रसंसा गरे । उनले भने ‘बलदेवको अब कोही रोक नई पाएगा । बलदेव देशलाई चाहिने नेता हो । जित्नुहुन्छ । उहाँलाई कसैले रोक्न सक्दैन । विकास मलाई थाहा छैन तर उहाँले चुनाव जित्नुपर्छ । बलदेवजिलाई अहिले सबैले चाहिराखेको छ ।’

यादवको मुखबाट आफ्नो प्रसंसा सुनिरहेका बलदेवले पनि फेरि जिताउन अनुरोध गर्दै गर्न बाँकी रहेका काम पुरा गर्ने बताए ।
शुद्धोधन गाउँपालिकाका स्थायी बासिन्दा यादव मात्रै होइन त्यही ठाउँकी रामरति प्यासीलाई पनि अहिलेको गठबन्धन मन परेको रहेछ । उनले गठबन्धनबाट बलदेव उठेकाले हँसिया हथौडा पैडमा भोट खसाल्ने बताइन् । उनीहरुजस्तै अरु धेरैले फेरि बलदेव र गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताए ।

उनीहरुले आफूहरुले पाएका समस्या पनि बलदेवलाई सुनाएका छन् भने नेताले जितेर आफूहरुको विकास र जीवनयापन सुधारको लागि काम नगरेको, सिंचाई सुविधाबाट बञ्चित हुनुपरेको गुनासो सुनाउने गरेका छन् । कतिपय सर्वसाधारणले बलदेवसंग आक्रोश पोख्दै विकास गर्ने प्रतिवद्धतापछि मात्र भोट खसाल्ने बताएका थिए ।

चुनावी प्रचारको क्रममा दक्षिणी क्षेत्रमा गरिरहेका बलदेवले ध्यानपूर्वक जनताको समस्या सुन्ने गरेका छन् । त्यसपछि उनले मत माग्दै सांसद भएर पुनः मन्त्री बनी यस क्षेत्रको विकास गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

दक्षिणमा आफू बलियो भएको भन्दै चाहेर पनि कसैले जनता तोडमोड गर्न नसक्ने बलदेवको दावी छ । उनले भनेजस्तै दक्षिणमा मात्र होइन उत्तरमा पनि बलदेवप्रति जनताको क्रेज बढेको देखिन्छ । क्षेत्र नम्बर १ मा पर्ने ३० वडामा मुख्य गरी बुद्धिजिवी, ब्यवसायी, राजनीतिकर्मी, शिक्षाप्रेमीले चुनाव आएपछि मात्र बलदेवलाई नजिकबाट चिन्न अवसर पाएको बताउँछन् ।

वाणगंगा नगरपालिका वडा नम्बर ४ को एक विद्यालयका प्रधानाध्यापकले भने ‘सुरुमा मैले पनि भन्थेँ बलदेवले केही गरेका रहेनछन् । तर अहिले चुनामा चिन्ने मौका पाउँदा उहाँ गज्जवको मान्छे हुनुहुँदो रहेछ । मन्त्री हुँदा उहाँले नीतिगत रुपमा निकै राम्रो काम पनि गर्नु भएको रहेछ । तर ती कामका प्रचार भएका रहेनछन् । बल्ल कामबारे जान्ने मौका पाइयो । नेता पनि सरल हुनुहुँदो रहेछ । उहाँ कपिलवस्तुको विकासको लागि चाहिने ब्यक्ति हुनुहँदो रहेछ ।’

बलदेवले चुनाव जिते आफ्नो विद्यालयको लागि केही बजेट र योजना माग गर्ने ती प्रधानाध्यापकको आशा रहेछ । उनले थपे ‘बलदेव पार्टीको पनि शक्तिशाली नेता, सांसद जिते मन्त्री पक्कै बन्नुहुन्छ अनि हामीले पनि आफ्ना समस्या र माग राख्न पाउँथ्यौँ कि ?’

ती प्रधानाध्यापक मात्र होइन विपक्षी पार्टीका धेरै नेताले पनि बलदेवको मन पराउने रहेछन् । कुराकानीको क्रममा विपक्षी नेताहरुले पनि बलदेवको प्रसंसा गर्ने गरेका छन् ।

सुरुमा बलदेवले गरेन भन्ने गुनासो आएपछि अहिले भने त्यो मत्थर हुँदै गएको बलदेवले बताए । २०७४ सालमा मन्त्री भएर धेरै काम गरेको भए पनि प्रचार नहुँदा आफू आझेलमा परेको कुरा अहिले आफूले हरेक मतदातालाई भन्ने गरेको उनले बताए । बलदेवले गरेन भनेर जति भ्रम छरे पनि अन्तिममा आफूले जित्ने उनको दावी छ । अहिले गठबन्धनको साथ रहेका कारण पनि एमालेभन्दा बलियो भएकाले चुनाव आफ्नो पक्षमा पार्न कुनै समस्या नभएको उनले बताए ।

यस क्षेत्रबाट प्रदेश सभा सदस्य पदको उम्मेदवारको रुपमा नेपाली काँग्रेसका डोलकराम घिमिरे छन् । मंसिर ४ गतेको चुनाव आउन अब ११ दिन मात्र बाँकी छ । उनले पनि अहिले चुनाव आफूले जित्ने दावी गर्दछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९ बुधबार ००:००  ६ : ०१ बजे