२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

बलदेवको उद्घोषः चुनाव जितेर किसान आन्दोलनको नेतृत्व गर्छु



मायादेवी अनलाइन, जितपुर ।

आगामी मंसिर ४ गते हुन लागेको कपिलवस्तुको ‘१’ नम्बर निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका चक्रपाणी खनाल बलदेवले अब किसान आन्दोलनको नेतृत्व गर्ने उद्घोष गरेका छन् ।

जेसिज कपिलवस्तुले वाणगंगाको चार नम्बरमा आयोजना गरेको ककस कार्यक्रममा आफ्नो एजेण्डा राख्दै ‘बलदेव’ ले चुनाव जितेपछि किसान आन्दोलनको नेतृत्व गर्ने बताएका हुन् ।

यसअघि चुनाव जितेर किसानको पक्षमा धेरै नीतिगत काम गरेको भन्दै बलदेवले किसानको पक्षमा धेरै काम गर्नु पर्ने आवश्यकता रहेको औँल्याए ।

पूर्वमन्त्रीसमेत रहेका उनले भने ‘मुलुकको पुर्नसंरचनासंगै हामी तिन तहको सरकारको अभ्यासमा छौँ । प्रदेश र स्थानीय सरकारले जनताको विकासको पक्षमा काम गर्नुपर्दछ । संघको काम नीति र कानुन बनाउने हो । सांसद र मन्त्री भएर भएर मैले केही नीतिगत काम गरेँ । चुनाव जितेर अब ती कामलाई पुरा गर्न मैले राम्रोसंग काम गर्छु ।’

बलदेव जि काम गर्नु भएन, जिल्लामा मल पनि आएन भन्ने मतदाताको प्रश्नको जवाफ दिँदै बलदेवले भने ‘तपाईले प्रश्न मलाई गर्नुभयो, मेरो प्रश्न प्रधानमन्त्रीसमक्ष छ । किन जनताले भनेबमोजिम मल दिन समयमा सकिएको छैन । मैले पनि यस्तै प्रश्न गरिरहेको छु हरेक प्रधानमन्त्रीसंग ।’

उनले आफ्नो पालामा किसानको पक्षमा आयात रोक्ने काम गरेको बताए । ‘१८ महिनाको मन्त्रीकालमा धेरै के गर्न सकिन्छ र केही काम गर्न खोजेको थिएँ, तत्कालिन प्रधानमन्त्री केपी ओलीसंग कुरा मिलेन । मैले तरकारीको विषादी जाँच गर्नुगर्ने खसीबोका आयात बन्द गर्नुपर्छ भनेँ, पाउडर दूध रोकौँ भने । तर केपी ओली जिले मान्नु भएन’, उनको जिकिर छ ।

आफूले बनाएका नीतिलाई अब बन्ने गठबन्धनको सरकारले पुरा गर्नु बताउँदै यी सारा कुराको नेतृत्व आफुले गर्ने बलदेवको भनाई छ । कपिलवस्तुको मात्र विकास नभएर देशभरको कृषि क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने दायित्व आफूमाझ भएको बलदेवले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९ आइतबार ००:००  ७ : ४२ बजे