२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

लुम्बिनी प्रदेशका ४ सय १० निर्वाचनस्थल अतिसंवेदनशील



बुटवल­ ।

खुला सीमा क्षेत्र, साना हतियारको बिगबिगी र निर्वाचन विरोधी समूहको प्रभावले आसन्न निर्वाचनका लागि लुम्बिनी प्रदेश संवेदनशील प्रदेशमा राखिएको छ ।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका लागि २६ र प्रदेशसभाका लागि ५२ निर्वाचन क्षेत्र छन् । त्यसका लागि १ हजार ६ सय ५० मतदानस्थल बनाइएका छन् । तिनमा ४ सय १० निर्वाचन स्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । ७ सय १४ संवेदनशीलताको सूचीमा छन् । हिमाल, पहाड र तराई मिलेर बनेको यो प्रदेश कतिपय भौगोलिक विकटताका कारण पनि संवेदनशील छन् ।

निर्वाचन सुरक्षाका लागि लुम्बिनीमा १० हजार २ सय ९ सुरक्षाकर्मी खट्ने छन् । १८ हजार ६ सय म्यादी खटाइएको छ । प्रदेशमा निर्वाचनलाई शान्ति र निर्भययुक्त बनाउन संवेदनशील क्षेत्रमा थप सुरक्षा संवेदनशीलता अपनाउने र जनशक्ति प्रयोग गर्ने तयारी रहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायले बताए । ‘भारतीय सीमासँग जोडिएका, विगतमा झैझगडा हुने र निर्वाचन विरोधी समूह सक्रिय हुनसक्ने स्थानलाई कोडिङ गरिएको छ,’ उनले भने ।

लुम्बिनी प्रदेशका तराईका ६ जिल्ला भारतीय सीमासँग जाडिएका छन् । यहाँ खुला सीमामात्र होइन वल्लोपल्लो खेतको कान्ला र घरका बलेनीले सीमा छुट्याएका समेत धेरै क्षेत्र छन् । सीमावारी मतदान प्रभावित पारेर सीमापारिबाट आएर मतदान प्रभावित पार्ने समस्या सबैभन्दा ठूलो चुनौती रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतकुमार पाण्डेयले बताए । ‘यद्यपि भारतीय सुरक्षाकर्मीसँग पटकपटक बैठक बसेर उताको सीमा र यताको सीमामा आआफ्ना सुरक्षाकर्मीलाई गस्ती गराउने र सीमा क्षेत्र सिल गर्ने निर्णय भएको छ,’ उनले भने ।

लुम्बिनी प्रदेशमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी लगायत निर्वाचन विरोधी समूहको पनि प्रभाव छ । जसले एकातिर नागरिकलाई मतदान प्रक्रियामा जान रोक्ने र अर्कोतर्फ निर्वाचनविरुद्ध त्रास र अफवाह फैलाउने काम गर्न सक्ने सुरक्षा अधिकारीहरुको आकलन छ । यसैमाथि विगतमा साना हतियार र विस्फोटक पदार्थको बिगबिगी समेत रहेकाले प्रदेशस्तरमा सुरक्षा कमान्ड पोष्ट निर्वाचन सेल गठन गरेर मतदानस्थल, मतदान केन्द्र र मतगणना क्षेत्रसम्मको छुट्टाछुट्टै सुरक्षा योजना बनाइएको छ । प्रदेशको आन्तरीक मामिला सचिव कोमलप्रसाद धमलाले जिल्ला सुरक्षा प्रमुख सदस्य रहेको समितिले हरेक जिल्लामा निर्वाचनसँग सम्बन्धित सुरक्षा एवं आचारसंहिता पालनाबारे अनुगमन र निर्देशनको काम गरिरहेको बताए । ‘प्रमुख जिल्ला अधिकारीलाई नै जिल्लाको अवस्था अनुसार सुरक्षाकर्मी थप्न र घटाउन सक्नेगरी अधिकार दिएका छौं,’ उनले भने ।

निर्वाचनलाई लक्षित गरी गृह मन्त्रालयले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरुलाई शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिवद्ध गराएको छ । मतदाता ढुक्कसँग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गर्नमात्र होइन सुरक्षित घर फर्कन र सुरक्षित मतगणना र सार्वजनिक गर्न सक्ने वातावरण बनाउन प्रदेशको आन्तरिक मन्त्रालयले समेत अनुगमनका काम बढाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९ सोमबार ००:००  ८ : १३ बजे