२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कपिलवस्तु २ (२) मा त्रिपक्षिय प्रतिस्पर्धा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु २ को प्रदेशसभा २ मा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन, नेकपा एमाले र जसपाका उम्मेदवार बीच यस प्रदेशमा प्रतिस्पर्धा हुने देखिएको हो ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुधाकर पाण्डेय, एमालेका धर्मबहादुरलाल श्रीवास्तव र जसपाका अब्दुल रसिद चुनावी मैदानमा छन् ।

श्रीवास्तव निवर्तमान लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री हुन् । पाण्डेय ०६४ देखि लगातार चुनाव हार्दै आएका आभागी नेता हुन् ।

खाँ मधेस आन्दोलनको रापतापमा कांग्रेस छाडि मधेस केन्द्रीत दलमा आवद्ध भएका नेता हुन् । साविक निग्लिहवा गाविसको उपाध्यक्ष भएर काम गरेका खाँ पनि त्यस यताका हरेक चुनाव हार्दै आएका छन् ।

तीन जना बीच मुख्य प्रतिस्पर्धा देखिएको यहाँ कांग्रेसका युवा नेता गयादीन कुर्मीले लौरो चुनाव चिह्न लिएर उठेका छन् ।

उनले कांग्रेसका बढी मत काट्ने अड्लबाजी छ । यदि कुर्मीले मत काटे पाण्डेयलाई असर पर्ने छ ।

दुई पटक संविधान सभाको निर्वाचन हारेका पाण्डेय ०७४ को निर्वाचनमा श्रीवास्तवसंग पराजित भएका थिए । यो निर्वाचनमा आफ्नो जित निश्चित रहेको उनी बताउँछन् ।

उम्मेदवार रसिद भने स्थानीय तहमा पार्टीले पाएको भोटलाई चुनाव जित्ने आधार ठान्छन् । कपिलवस्तु नगरपालिकाको नगर प्रमुख, उप-प्रमुख जसपाले जितेकाले यो निर्वाचन जित्न सहज भएको उनी बताउँछन् ।

साथै उनलाई मुस्लिम समुदायको मत राम्रै जाने अनुमान छ । यस क्षेत्रमा मुस्लिम समुदायको मत निर्णायक छ ।

श्रीवास्तवलाई भने चुनावी दौडमा कमजोर आंकलन गरिन्छ । तर एमालेको बलियो मत छ । विगतमा एक पटक चुनाव जितेको र खासै प्रभावकारी काम हुन नसकेको मतदाताको आरोप छ ।

कपिलवस्तु नगरपालिकाका ७ वडा, यशोधरा गाउँपालिकाका ८ वडा र बुद्धभूमि नगरपालिकाको १ वडा यस निर्वाचन क्षेत्रमा पर्छ ।

यहाँ जसपाले कपिलवस्तु नगरपालिकाको मेयर, उप-मेयरसंगै वडा नं. १ को वडा जितेको छ ।

यशोधरा गाउँपालिकाको वडा नं. ४ जितेको छ भने बुद्धभूमि नगरपालिकाको एक वडा जितेको छ ।

एमालेले यशोधराको अध्यक्ष, उपाध्यक्षसंगै कपिलवस्तु नगरपालिकाको वडा नं. २, वडा नं. ४ र वडा नं. ६ जितेको छ ।

यशोधराको वडा नं. १, वडा नं. २ र वड नं. ८ जितेको छ ।

नेपाली कांग्रेसले कपिलवस्तुको वडा नं. ३, वडा नं. ५ र वडा नं. १२ जितेको छ । यशोधरा गाउँपालिकाको वडा नं. ३ र वडा नं. ७ जितेको छ ।

जनमत पार्टीले यशोधराको वडा नं. ६ जित्दा स्वतन्त्र उम्मेदवारले वडा नं. ५ जितेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९ बिहिबार ००:००  ८ : ०४ बजे