१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गाउँपालिकाको अध्यक्षमा पराजित यादव प्रदेश सांसदमा निर्वाचित



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु ३ को प्रदेश सभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकी प्रसाद यादव विजयी हुनुभएको छ ।

विहीबार राति सकिएको मतगणनामा यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई ६ सय ७५ मतान्तरले पराजित गर्नुभएको हो ।

यादवले ८ हजार ५८२ मत पाउँदा खाँले ७ हजार ९०७ मत प्राप्त गर्नुभएको छ ।

राप्रपाबाट विजयी हुनुभएका यादव गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयनगर गाउँपालिकाको अध्यक्षमा पराजित हुनुभएको थियो । उहाँ स्थानीय तहको चुनावमा जनता समाजवादी पार्टी (जसपा) नेपाल बाट चुनाव लड्नुभएको थियो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जसपाले टिकट नदिए पछि उहाँ राप्रपामा प्रवेश गरेका टिकट पाउनुभएको थियो ।

यस्तै सत्ता गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार विरेन्द्र कानौडियाले ६ हजार ७९ मत पाउनुभयो ।

०७४ सालमा यही निर्वाचन क्षेत्रबाट लुम्बिनी प्रदेश सभा सदस्यमा उहाँ निर्वाचित हुनुभएको थियो ।

निर्वाचनमा जनता प्रगतिशिल पार्टीका उम्मेदवार मिर्जा रसिद बेगले ५ हजार २४१ मत पाउनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ३ का अनुसार मंसिर ४ मा सम्पन्न निर्वाचनमा ३५ हजार ६३४ मत खसेकोमा २ हजार ७० मत बदर भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९ शुक्रबार ००:००  ११ : ३२ बजे