१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रुपन्देही– २ मा मतगणना सुचारु गर्न आयोगको निर्देशन



रुपन्देही ।
निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर २ को मतगणना सुचारु गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै सत्ता गठबन्धन, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले रूपन्देही– २ को मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेका थिए ।

निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।

विवादको विषयमा जानकारी गराउँदै निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो ।

‘मतपेटिकाभित्र भएका मतपत्र संख्यालाई नै वास्तविक मतपत्र संख्या मानी मतगणना कार्य सुचारू गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएकाले निर्णयानुसार हुन अनुरोध छ,’ आयोगका उपसचिव ऋषिराम भुसालले निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै पठाएको पत्रमा भनिएको छ ।

यस्तो छ, आयोगको निर्देशन

गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानूनबमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको छ ।

मतगणनाका क्रममा प्रतिनिधि उपस्थित नभए आयोगले आफैँ गणना गरी नतिजा प्रकाशित गर्ने अधिकार कानूनले दिएको छ ।

मतगणना रोक्न माग गर्दै अन्य दलका प्रतिनिधि बाहिरिएपछि गणना अवरुद्ध भएको थियो ।​

के हो मतगणना विवाद ?

बुटवल-११ को ‘ड’ मा ६२९ मत खसेको थियो । सोमध्ये ३८८ महिला र २४१ पुरुष उल्लेख गरी मुचुल्का तयार भएको थियो ।

मतपेटिका गणनास्थल पुर्‍याएर कम्प्युटरमा इन्ट्री गर्दा कुल मत संख्या ६२९ नै इन्ट्री भएको थियो । 

मत पेटिकामा मत पनि ६२९ मत नै भेटिए पनि महिलाको मत ३ सय ८८ हुनुपर्नेमा इन्ट्री गर्दा भूलवश ३३८ इन्ट्री भएको पाइएपछि गठबन्धन, रास्वपा लगायतका दलका प्रतिनिधिले मतगणना अवरुद्ध बनाएका हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९ शुक्रबार ००:००  ४ : १७ बजे