११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

पञ्चायतकाल देखि चुनाव हार्दै आएका मंगल गुप्ता जितको दिशामा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु ३ मा नेकपा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ता विजयी हुने लगभग निश्चित भएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको जारी मतगणनामा गुप्ताको जित लगभग निश्चित भएको हो ।

मतगणनाको काम अन्तिम चरणमा आएको छ ।

शुक्रबार दिउँसो ४ः४५ सार्वजनिक भएको मतपरिणाम अनुसार गुप्ताले २० हजार ८५२ मत पाएर अग्रस्थानमा छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले पछ्याइरहेका छन् । सत्ता गठबन्धनको समेत साथ पाएका शाहले १७ हजार ७८७ मत ल्याएका छन् ।

गुप्ता र शाह बीचको मतान्तर ३ हजार ३५ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरियाले १३ हजार ३३२ मत ल्याउँदा जनता प्रगतिशिल पार्टीका उम्मेदवार इश्वर दयाल मिश्रले १२ हजार ४६ मत पाएका छन् ।

अब ४८ सय मत गणना गर्न बाँकी रहेको बताइएको छ । यी दुबै बीचको अन्तर हेर्दा जितको लक्ष्यमा पुग्न शाहलाई असम्भव जस्तै देखिन्छ ।

गुप्ता चुनाव हार्ने अभागी नेतामा पर्छन् । पञ्चायतकाल देखि संसदीय चुनाव लड्दै आएका गुप्ता अहिलेसम्म जित निकाल्न सकेका छैनन् । यो निर्वाचनमा भने उनको जित निश्चित भएको हो ।

पञ्चायत, नेपाली कांग्रेस, मधेस केन्द्रीत दलबाट पटक पटक चुनाव हार्दै यहाँसम्म आएका गुप्ता एक बर्ष अगाडी एमाले प्रवेश गरेका थिए । जीवनको उत्तरार्धमा पुगेका उनले यो पटक कम्युनिष्ट पार्टीबाट चुनाव जित्ने भएका हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९ शुक्रबार ००:००  ४ : ३२ बजे