७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कपिलवस्तु १ मा नेकपा एमालेद्धारा विजयी र्‍याली



मायादेवी अनलाइन, बाणगंगा ।
सत्ता गठबन्धनलाई पराजित गरेको नेकपा एमालेले कपिलवस्तु १ मा शुक्रबार विजयी र्‍याली गरेको छ ।

मंसिर ४ गते सम्पन्न भएको स्थानीय तहको चुनावमा प्रतिनिधि सभा १ र दुबै प्रदेश सभा जितेको एमालेले जितको खुसीयालीमा क्षेत्रभरी विजयी र्‍याली निकालेको हो ।

निर्वाचन अगाडीसम्म यो क्षेत्रमा सत्तारुढ गठबन्धन बलियो रहेको प्रक्षेपण रहदै आए पनि मतदाताले एमाले उम्मेदवारलाई जिताएका हुन् ।

एमालेबाट क्षेत्र नं. १ मा बलराम अधिकारी विजयी हुनुभएको छ । अधिकारीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार चक्रपाणि खनाल ‘बलदेव’ लाई १५ हजार ६९२ मतान्तरले हराउँदै निर्वाचित हुुनुभएको हो ।

बलरामले ३४ हजार ६७५ मत पाउँदा उहाँका प्रतिस्पर्धी खनालले १८ हजार ९८३ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा १ का निर्वाचन सहायक अधिकृत शान्तराज आचार्यले जानकारी दिनुभयो ।

यस्तै जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार ३९६ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले ६ हजार ७५ मत ल्याउनुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर रायमाझीले ४ हजार ३४१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जू सिंह विष्टले ३ हजार ३७६ मत पाउनुभयो ।

निर्वाचनमा पराजित खनाल माओवादी केन्द्रका सचिव हुनुहुन्छ भने ०७४ मा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

यता प्रदेश सभा १ मा एमालेका विष्णु पन्थी विजयी हुँदा क्षेत्र नं. २ मा मधुसुदन शरण चौधरी विजयी हुनुभएको छ ।

पन्थीले नेपाली कांग्रेसका उम्मेदवार डोलकराम घिमिरेलाई ४ हजार ४५० मतले पराजित गर्नुभयो । पन्थीले २० हजार २४७ मत पाउँदा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेले १५ हजार ७९७ मत ल्याउनुभयो ।

प्रदेश सभा २ मा एमालेका चौधरी १० हजार १८ मतका साथ विजयी हुनुभएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहनुभएका कांग्रेसका उम्मेदवार सहसराम यादवले ८ हजार २५ मत पाउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार फैजल खानले ७ हजार ४७० मत पाउनुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०७९ शुक्रबार ००:००  ५ : ४७ बजे