१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

‘नपत्याएको मत पाएर भारी मतान्तरले चुनाव जिते’



मायादेवी अनलाइन, बाणगंगा ।
मंसिर ४ को आम निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ताको समय थियो । आम चर्चामा नेकपा एमालेको उम्मेदवारी थिएन् ।

किनकी बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावी मरिणाम र दह्रो गरी बनेको गठबन्धनका नजिक एमालेको उम्मेदवारीले त्यति चर्चा नपाएको हो ।

कपिलवस्तु १ मा नेपाली कांग्रेस ठूलो पार्टी हो । तर यहाँ गठबन्धनका कारण कांग्रेसले टिकट पाएन । ०७४ मा नेकपा (माओवादी केन्द्र) ले चुनाव जितेका कारण यहीँ दलले टिकट पाउने बालुवाटारमा सहमति बन्यो ।

सत्ता सहयात्री दलहरुका शिर्ष नेता बीच भएको सहमति अनुसार माओवादी केन्द्रले यहाँ टिकट पायो । संगठनका हिसाबले माओवादी कमजोर रहे पनि कांग्रेसको बलियो साथ नेकपा (एस) र राष्ट्रिय जनमोर्चाको सहकार्यले चुनाव जित्ने बलियो अंक गणित थियो ।

देशभर गठबन्धन बनेको कारण यदाकदा असन्तृष्टि भए पनि यहाँ चुनाव सजिलै जित्ने अनुमानका बीच नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणी खनाल बलदेवले उम्मेदवारी दर्ता गराए । सिंगो क्षेत्र चुनावमय बन्यो ।

उम्मेदवारको मनोनयका दिन अर्को रोचक राजनीतिक दृश्य देखा पर्यो । नेकपा एसले पाउने भनेको प्रदेश सभा ‘२’ पाएन ।

तामझामसहित जसपाबाट मनोनयन दर्ता गराउन आएका सहसराम यादव एकाएक मोडिएर कांग्रेसका उम्मेदवार बने ।

एमाले–जसपा तालमेलबाट यादवलाई नै उम्मेदवार बनाउने गरी दुबै दलले केन्द्रमा सहमति गरेका थिए ।

तर उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि एमाले–जसपा गठबन्धनमा एक छिन ‘सन्नाटा’ छायो । दक्षिणमा कमजोर मानिएको एमालेले मुधसुदन शरण चौधरीलाई उम्मेदवार बनाएर अपराह्नपख मनोनयन दर्ता गराएको थियो । गठबन्धनको दबाबका बीच एमालेले प्रतिनिधि सभामा बलराम अधिकारीलाई उम्मेदवार बनाएको थियो ।

मनोनयन दर्ता लगत्तै सुस्त गतिमा चुनावी प्रचार प्रसार थालेको एमालेले घरदैलो कार्यक्रममा समेत दलबल देखाएको थिएन ।

सहसराम यादवका समेत गरी झण्डै २८ हजार मतान्तरले अगाडी रहेको गठबन्धनले चुनाव जित्ने धेरैको अनुमान थियो । तर मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अधिकारी जनताबाट भारी मतले अनुमोदित भएका छन् ।

अनपेक्षित मत ल्याएका अधिकारीले माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज खनाललाई भारी मतान्तरले पराजित गरेका हुन् । ०७४ मा एमालेकै सहयोगमा चुनाव जितेका पूर्व मन्त्री खनाल नसोचेको मतान्तरले पराजित हुन पुगेका छन् ।

अधिकारी ०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । ०७४ मा पनि टिकटको दाबी गरिरहेका अधिकारीले तत्कालिन बाम गठबन्धनबाट टिकट पाएनन् । कम्युनिष्ट एकताको बीच नेकपाको लुम्बिनी पार्टी कार्यालयको सचिव भएर काम गरेका अधिकारी हालै सम्पन्न एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

स्वंम अधिकारी प्रतिनिधि सभामा लड्ने मनस्थितिमा थिएनन । विष्णु पन्थीलाई प्रतिनिधि सभा सदस्यमा लडाएर आफू प्रदेश सभाबाट चुनाव लड्ने चाहनामा थिए । तर परिस्थिति एकाएक फेरिए पछि उनी प्रतिनिधि सभामा चुनाव लड्न तयार भएका हुन् ।

एक दशक बढी एमाले कपिलवस्तुको नेतृत्वमा रहेका अधिकारीले ३१ हजार २१६ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार चक्रपाणी खनालले १६ हजार ७२७ मत पाए ।

प्रकाशित मिति : १० मंसिर २०७९ शनिबार ००:००  १० : १२ बजे