१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

०७४ मा चुनाव जितेका तीनै जना संघीय सांसद यो निर्वाचनमा पराजित



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा ०७४ मा चुनाव जितेका तीनै जना संघीय सांसद पराजित हुन पुगेका छन् ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा तीन वटै संघीय निर्वाचन क्षेत्रका निवर्तमान सांसद पराजित हुन पुगेका हुन् । जिल्लामा तीन वटा संघीय निर्वाचन क्षेत्र छ ।

०७४ मा प्रतिनिधि सभा १ मा तत्कालिन बाम-गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का चक्रपाणी खनाल ‘बलदेव’, प्रतिनिधि सभा २ मा सूर्य चुनाव चिह्न लिएर बृजेश कुमार गुप्ता र प्रतिनिधि सभा ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह निर्वाचित भएका थिए ।

यी तिनै जना निवर्तमान सासंद यो निर्वाचनमा पराजित भएका हुन् ।

बलदेव क्षेत्र नं. १ बाट नेकपा (एमाले) का उम्मेदवार बलराम अधिकारीसंग भारी मतान्तरले पराजित हुन पुगे । सत्ता गठबन्धनको साथ पाएर पनि उनी अधिकारीसंग १४ हजार ७२७ मतान्तरले पराजित हुन पुगेका हुन् । गठबन्धन भित्रको आन्तरिक एकता नहुँदा उनले यो चुनावमा अपेक्षित सफलता पाउन सकेनन् ।

बलदेवले १६ हजार ७२७ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी अधिकारीले ३१ हजार २१६ मत पाएका छन् ।

०७४ सालमा तत्कालिन नेपाली कांग्रेसका दीपकुमार उपाध्यायलाई ९४४ मतले पराजित गरेका थिए । खनालले २९ हजार ७९३ मत प्राप्त गरेका थिए भने उपाध्यायले २८ हजार ८४७ मत पाएका थिए । एमालेको साथ पाएर उपाध्यायलाई पराजित गरेका बलदेव यो निर्वाचनमा एमालेसंग नै पराजित हुन पुगे ।

बलदेव, उपाध्याय र अधिकारी ०७० का एक अर्काका प्रतिस्पर्धी थिए । त्यो निर्वाचनमा अधिकारीले बलदेव र उपाध्यायलाई पराजित गरेका थिए । यिनै अधिकारी पुनः संघीय सांसदमा निर्वाचित हुन सफल भएका छन् ।

०५६ देखि लगातार चुनाव जित्दै आएका बृजेश कुमार गुप्ताको संसद यात्रामा यसपालि ‘ब्रेक’ लागेको छ । लगातार चार निर्वाचन जित्दै आएका उनी नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यसंग झिनो मतान्तर (३१७) ले पराजित भएका छन् । यिनै आचार्यलाई गुप्ताले ०७४ सालमा पराजित गरेका थिए । गुप्ताले ३५ हजार १२७ मत पाउँदा आचार्यको मत ३१ हजार ५६६ थियो । उनीहरु बीचको मतान्तर ३ हजार ५८१ थियो ।

यो निर्वाचनमा गुप्ता आचार्यसंग ३ सय १७ मतान्तरले पराजित हुन पुगे । आचार्यले ३९ हजार १४ मत पाउँदा उनको मत ३८ हजार ६९७ आएको छ ।

०६४ को पहिलो संविधान सभामा सानै उमेरमा चुनाव जितेर चर्चामा आएका अभिषेक प्रताप शाह यो चुनावमा पराजित भएका छन् । लगातार तीन चुनाव जितेका शाह यो निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार मंगल प्रसाद गुप्तासंग पराजित भएका हुन् । यिनै गुप्तालाई ०७४ सालमा पराजित गरेर संघीय संसदको यात्रा तय गरेका शाह यो निर्वाचनमा ३ हजार ६३६ मतान्तरले पराजित हुन पुगे ।

०७४ मा शाह गुप्तालाई ४ हजार ४७० मतान्तरले हराएका थिए । त्यो चुनावमा शाहले १९ हजार ८६४ मत पाउँदा संघीय समाजवादी पार्टीबाट चुनाव लडेका गुप्ताले १५ हजार ७९४ मत पाएका थिए ।

सत्ता गठबन्धनको दरिलो साथ पाउँदा पनि चुनाव नजितेका शाहले १८ हजार ९८३ मत ल्याएका छन् । विजयी उम्मेदवार गुप्ताको २२ हजार ६१९ मत छ ।

प्रकाशित मिति : १० मंसिर २०७९ शनिबार ००:००  ९ : ०९ बजे