८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कतार विश्वकपः आज चार खेल हुँदै



काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज आईतबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा आईतबार समूह चरण अन्तर्गत समूह ई र समूह एफ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ई मा रहेको जापान र कोस्टारिकाबिच प्रतिस्पर्धा हुनेछ । जापान र कोस्टारिका बिचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

जापान आजको खेलमा दोस्रो जितको खोजीमा रहने छ । पहिलो खेलमा जापानले बलियो मानिएको जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

उता,कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछन् । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७-० को अन्तरमा पराजित भएको थियो ।

दोस्रो खेलमा समूह एफ का बेल्जियम र मोरक्को बिच प्रतिस्पर्धा हुनेछ । बेल्जियम र मोरक्को बीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको बेल्जियम आजको खेलमा पनि जित हात पार्न चाहान्छ । मोरक्को भने पहिलो जित हात पार्न चाहान्छ ।

पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकप अन्तर्गत नै आईतबार हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडा खेल्ने छन् ।

समूह एफ का क्रोएसिया र क्यानडा बीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् ।

पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो । क्यानडा भने बेल्जियमसँग पराजित भएको थियो ।

त्यस्तै चौंथो खेलमा समूह ई का जर्मनीले स्पेनको सामना गर्नेछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा जित हात पारेको स्पेन सोही लयलाई निरन्तरता दिन चाहान्छ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७९ आइतबार ००:००  ७ : ४८ बजे