१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भावी प्रधानमन्त्रीका लागि दौडधुपमा पौडेल



काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थालेका हुन् ।​ पौडेलले कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग एक चरण छलफल गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरिसकेका हुन् । पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई भेटेका थिए ।

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भने पौडेलको निवास बोहराटार गएर उनलाई भेटेका थिए ।​  यसैबीच पौडेलले माधव नेपाल र प्रचण्डसँग टेलिफोन सम्वाद भएको बताए । उनीहरुसँगको छलफलमा पौडेलले भावी प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

पौडेलले भने, ‘जनताको चाहना के हो रु असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने ? अहिले जनभावनालाई कसरी सम्बोधन गर्ने ? यी यावत विषयमा छलफल भएको छ ।’ प्रधानमन्त्रीमा नयाँ अनुहार आउँदा जनतामा आशा जागृत गराउन सकिन्छ भन्ने विषयमा सबै सकारात्मक रहेको पौडेलले बताए । ‘मलाई अगाडि सार्ने विषयमा गठबन्धनका सबै नेताहरु सकारात्मक हुनुहुन्छ । सभापति र विमलेन्द्रजीसँग कुरा भएको छ । पार्टीका अरु साथीहरुसँग पनि छलफल गर्दै छु ,’ उनी भन्छन् ।

कांग्रेसमा भावी प्रधानमन्त्रीका लागि सभापति देउवा, महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला लगायत प्रधानमन्त्रीका आकांक्षी देखिएका छन् । गठबन्धन र कांग्रेसका सांसदलाई आफ्नो पक्षमा उभ्याउन कांग्रेस नेताहरुको कसरत जारी छ ।

प्रधानमन्त्रीका लागि कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुपर्ने भएकाले कांग्रेसमा सांसदको हिसाब किताब चलिरहेको छ । कांग्रेसले पत्यक्षमा अहिलेसम्म ५३ सिट जितेको छ भने ३ सिटमा आग्रता लिएको छ ।

कांग्रेसका उम्मेदवार रहेका स्याङ्जा २ र बाजुरामा मतगणना सुरु हुन भएको छैन । कांग्रेसले समानुपातिकमा करिब ३३ जना सांसद जित्ने देखिन्छ । उनीहरुले कांग्रेसमा संसदीय दलको नेता चुन्ने छन् । सोही व्यक्ति कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका हैसयतले कांग्रेसले नै नेतृत्व गर्नेमा विवाद नरहेका कांग्रेस प्रवक्ता प्रकाशशरण मतहले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७९ आइतबार ००:००  १२ : ५७ बजे