११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कपिलवस्तु १ (२) : ६ वडा जितेको जसपाका उम्मेदवारलाई जम्मा ९ सय २ भोट



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको मत नपाउने उम्मेदवार मेवालाल यादव बनेका छन् ।

कपिलवस्तु १ को प्रदेश सभा २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट उम्मेदवार बनेका यादवले जम्मा ९ सय २ मत पाएका छन् ।

जबकी गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा जसपाका ७ वडामा वडा सरकार छ ।

जसपाबाट चुनाव लडेर बजरंगी प्रसाद कुर्मीले मायादेवी गाउँपालिकाको अध्यक्षमा ४ हजार ८८० मत र शुद्धोधन गाउँपालिकाको अध्यक्षमा ४ हजार १८२ मत ल्याएर निसार अहमद खाँ पराजित भएका थिए ।

स्थानीय तहमा जसपाका वडाध्यक्षले पाएको मतभार १० हजार १३१ छ । तर मंसिर ४ को निर्वाचनमा आफ्नै पार्टी कार्यकर्ताले यादवलाई भोट नदिएको पुष्टि भएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्रमा शुद्धोधन गाउँपालिकाका ६ वटै वडा, मायादेवी गाउँपालिकाको वडा नं. ३ बाहेक ७ वटै वडा र कपिलवस्तु नगरपालिकाका २ वडा पर्छन् ।

यहाँ शक्तिका हिसाबले ठूलो शक्ति जसपा हो । तर प्रदेश सभामा उसले पाएको मतले जसपा इतिहासकै कमजोर रहेको पुष्टि गरेको छ ।

जसपाका प्रभावशाली नेताहरु चुनावको मुखैमा लाखापाखा लाग्दा यो स्थिति आएको कार्यकर्ता बताउँछन् ।

२०७४ को चुनावमा जसपाबाट प्रदेश सभा सदस्य जितेका सहसराम यादव मनोनयन दर्ताको दिन नेपाली कांग्रेस प्रवेश गरे ।

कांग्रेसबाट उनी उम्मेदवार बनेका थिए ।

मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष बजरंगी प्रसाद कुर्मी पनि जसपा त्यागेर नेकपा एमालेमा प्रवेश गरे । दुबै जना प्रभावशाली नेताले पार्टी छाड्दा जसपा कमजोर बनेको हो ।

यहाँ प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार मधुसुदन शरण चौधरी विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार सहसराम यादवलाई २ हजार ६८२ को मतान्तरले पराजित गरेका हुन् । चौधरीले ११ हजार ७४८ मत पाए भने यादवको मत ९ हजार ६६ रहेको छ ।

यहाँ नेकपा (एस) का उम्मेदवार फैजल खान ८ हजार ८०७ मत ल्याएर तेस्रो भएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९ सोमबार ००:००  ९ : २४ बजे