१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

गंगा चौधरीको जमानत जफत



दाङ ।

नेकपा एमालेबाट विद्रोह गरेर उम्मेदवार दिएकी गंगा चौधरी (सत्गौवा)को जमानत जफत भएको छ ।

दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा ‘हाम्रो नेपाली पार्टी’बाट उम्मेदवारी दिएकी चौधरीले १० प्रतिशत पनि मत ल्याउँन नसकेपछि धेरौटी जफत भएको हो ।

उनले १ हजार ९२ मत प्राप्त गरेकी छन् । निर्वाचनमा १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था अनुसार चौधरीको जमानत जफत भएको हो ।

नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको आकांक्षी चौधरीलाई टिकट नदिएर शान्ता चौधरीलाई दिएको थियो । त्यसपछि उनले एमाले परित्याग गरी ‘हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी थिइन् ।

दाङमा प्रतिनिधिसभाका र प्रदेशसभाका गरी ६५ जनाको धरौती जफत भएको छ । तीन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा गरी उम्मेदवारी दिएका ८९ जना उम्मेदवारमध्ये ६४ जनाको धरौती जफत भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । बाँकी २५ जनाले भने जमानत बचाउन सफल भएका छन् ।

दाङ निर्वाचन क्षेत्र-१ मा प्रतिनिधि सभातर्फका ८ जना, क्षेत्र नं.२ मा १२ जना र क्षेत्र नं. ३ मा ३३ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । त्यसैगरी प्रदेशसभातर्फ ३१ जना उम्मेदवारहरुको जमानत जफत भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९ मंगलबार ००:००  ३ : ३५ बजे